आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

‘प्रधानमन्त्रीको चाहना छाडोस् भन्ने थियो’

परदेशी खबर ९ पुष २०७६, बुधबार ०१:२९ मा प्रकाशित ( ४ साल अघि) १७२ पाठक संख्या

 

नेकपासँग सत्ता साझेदार गर्दै आएको समाजवादी पार्टीले सरकार छाडेको छ। यद्यपि सरकालाई दिएको समर्थन फिर्ता लिएको छैन। समाजवादी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री र अर्का मन्त्री इस्तिहाक राईले पदबाट राजीनामा दिएका छन्। अब उनीहरूले सत्ता समर्थन पनि छाडेमा सरकारले दुई तिहाइको समर्थन गुमाउनेछ। आफूहरूलाई अपमान गरेपछि सरकारमा बसिरहन आवश्यक नरहेको उनको भनाइ छ। अबको रणनीतिबारे अध्यक्ष यादवसँग गरिएको संक्षिप्त कुराकानी :

यहाँको राजीनामा किन ?

आरम्भदेखि नै हामीलाई बेवास्ता गरेर संख्यात्मक रूपमा बलियो देखिने काम भयो। पछिल्लो समय नेकपाले हाम्रो आवश्यकता महसुसै गरेन। कुनै योजना होस् या नीति–कार्यक्रम हामीलाई सामेल गराइएन। त्यसैले उहाँहरुलाई नै सजिलो होस् भनेर हामीले छोडिदिएका हौं। आज सरकार छाडेका छौं। अब सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने विषय बुधबार छलफल गरेर टुंग्याउँछौं।

 यहाँ विदेशमा हुँदा नै मन्त्रालय परिवर्तन गरिदिएको अवस्थामा राजीनामा दिनुभएन तर अहिले आएर दिँदा अलि असहज देखियो होइन ?

हामी त्यतिबेलै राजीनामा दिने तयारीमा थियौं। अन्तर्राष्ट्रिय कार्यक्रममा एक दिन एउटा पहिचान र अर्को दिन फरक पहिचान हुने भएपछि म दोस्रो दिनको कर्यक्रममा सहभागी भइनँ। फर्केपछि प्रधानमन्त्रीले झन् काम गर्ने स्थानमा पुग्नुभयो भन्नुभयो। तर, हामी जुन मुद्दा लिएर सरकारमा आएका थियौं त्यो मुद्दामा उहाँ टसमस हुनु भएन। बाहिर एउटा कुरा गर्ने, काम अर्को भएपछि बसिरहन आवश्यक ठानेनौं।

संविधान संशोधनका विषयमा अडान राखेकै कारण छोड्नुभएको हो त ?

पक्कै। मैले संविधान संशोधन प्रस्तावबारे छलफल गर्न खोज्दा उहाँले अस्वीकार गर्नुभयो। सुन्ने धैर्यसमेत राख्नु भएन। म पनि बैठकबाट बाहिरिएँ। सर्त पूरा नभएपछि नैतिकताका आधारमा सरकार छाडेका हौं।

 संविधान संशोधनमा नेकपा लचिलो छैन हो ?

उहाँहरू संविधान संशोधनका पक्षमा हुनुहुन्न। सहमति नै उल्लंघन गर्नुभएको छ। नेकपा पेलेर जाने नीतिमा छ। दुई तिहाइको दम्भ देखिन्छ। अन्यथा संविधान संशोधन प्रस्तावमा छलफल गर्नै नहुने के छ ? संशोधनका विषयमै कुरा मिलेर हामी सरकारमा आएका हौं। पदीय लोभले मात्र सरकारमा आएका हौइनौं।

 अब यसको असर प्रदेश दुईको सरकारमा पनि पर्ला नि ?

त्यहाँ केही हुँदैन। जे जस्तो छ उस्तै रहन्छ। त्यस विषयमा पनि हामी बुधबार गम्भीर छलफल गर्नेछौं।

 राष्ट्रियसभातर्फको तालमेलको विषय पनि छ ?

संविधान संशोधनमा उहाँहरू लचिलो नहुने र हामीलाई सरकारभित्रै पनि पेलेर जाने नीति अख्तियार गरेको अवस्था छ।

 यहाँले प्रक्रिया नपुर्‍याई आफूखुसी प्रस्ताव लगेको भन्ने छ नि ?

त्यस्तो होइन। हामीले छलफल गरेर तयारीका साथ प्रस्ताव लगेका हौं। एक चरण मन्त्रिपरिषद्मा छलफल गर्न मैले नै प्रस्ताव राखेको हुँ। त्यो प्रस्ताव छलफल भएपछि अन्य प्रक्रिया अघि बढ्ने थियो। यो त पेल्ने वा जाओस् भन्ने तरिका भयो नि।

 प्रधानमन्त्री ओलीले यहाँहरुले सरकार छोडिदिए हुने थियो भन्ने व्यवहार गर्नुभएको हो ?

पक्कै। उहाँलाई हामी असहजझंै लाग्न थाल्यो। काम र गफ फरक विषय हो भन्ने कुरा जनतालाई जानकारी गराउन हामीले सरकार छोडेका हौं। यसमा भ्रम छैन। तालुकदार मन्त्रालयका मन्त्रीले राख्ने प्रस्ताव कसरी ठाडो हुन्छ?

अब सत्तालाई दिएको समर्थन टुट्छ ?

यो निर्णय बुधबारको बैठकले गर्छ। अहिले नै भन्न हतार होला कि ?

एकताको प्रक्रिया के छ ?

हामी छलफलमै छौं। दुवैको मुद्दा एकै हो। कुनै न कुनै विन्दुमा हामी मिलेर अघि बढ्नुैपर्छ। संविधान संशोधनका विषयमा हामी सबै एक हुनेछौं।

प्रस्तुति : चन्द्रशेखर अधिकारी 

यो अन्तर्वाता अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन् ।