आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS

टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित,पारस खड्काको विस्फोटक ब्याटिङ

परदेशी खबर २८ असार २०७६, शनिबार ०८:३६ मा प्रकाशित ( ४ साल अघि) १८२ पाठक संख्या

सम्वाददाता

क्वालालम्पुर  २८,असार ।  मलेसियाविरुद्ध टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

मलेसियाको किनरारा मैदानमा  भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५० बलमा ८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी शरद भेषवाकरले १६ रनको योगदान गरे। प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, रोहितकुमार पौडेलले ५ रन जोडे ।

मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए ।

ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।

मलेसियाका लागि बिरानदीप सिंहले सर्वाधिक ५७ रन बनाए । अहमद फैजले ४५ रन र फित्री सामले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी-ट्वान्टी विश्वकप छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडी अभ्यासका लागि नेपालले मलेसियासँग दुई  टी–ट्वीन्टी प्रतियोगिता खेल्न लागेको हो ।

अर्को खेल नेपालले सोही मैदानमा आइतबार खेल्दैछ । यस प्रतियोगिता खेलेर नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।