आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

परदेशी खबर १८ बैशाख २०७५, मंगलवार १८:३४ मा प्रकाशित ( ६ साल अघि) ३७० पाठक संख्या

– कुमार रानामगरले चलाएको गाडी दुर्घटनाले साउदी नागरिक घाइते
– उपचारका लागि ८३ लाख व्लडमनि बुझाउनु पर्ने

गोरखा  मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्‌को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका-७ वोर्लाङका कुमार रानामगर सेप्टेम्वर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् ।

साउदी अरबको जेलमा रहेका श्रीमान् रिहाइका लागि सहयोग गरिदिन आग्रह गर्दै अम्बिका रानामगर । तस्बिर : कान्तिपुर

साउदीको खालिद एसअल कम्पनीमा हेल्पर काम गर्दै आएका मगरले सवारीचालक अनुमतिपत्र बिनै चलाएको गाडी २४ अप्रील २०१६ मा दुर्घटना हुँदा साउदी नागरिक खालिद अल गताइवी घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ओताइवीले क्षतिपूर्ति माग गर्दै (दिया रकम ब्लडमनि) अदालत समक्ष २०१६ डिसेम्वर १९ मा मुद्दा दर्ता गरे । अफिम जनरल कोर्टले २०१७ अप्रिल १७ मा कुमारले २ लाख ९४ हजार साउदी रियाल (नेपाली ८३ लाख रुपैयाँ) घाइते ब्याक्तिलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो ।
क्षतिपूर्ति तिर्नुपर्ने अवधि सकिँदासम्म तिर्न नसकेपछि पक्राउ गरिएका उनलाई जेलमा राखिएको छ । ‘कमाउन गएको श्रीमान जेलमा हुनुहुन्छ, उल्टो उहाँलाई निकाल्न तेत्रो पैसा लाग्छ रे,’ रूँदै श्रीमती अम्बिकाले भनिन्, ‘मेरो पतिको तर्फबाट कुनै वकिल नराखी, भाषा अनुवादसमेत नगरी एकोहोरो रुपमा अदालतले ब्लडमनि तिर्नुपर्ने र नतिरेसम्म आजीवन जेल बस्नुपर्ने कागजमा सही गर्न लगाएछ ।’ विदेशको ठाउँमा आफ्नो श्रीमानलाई फसाएको उनको आरोप छ । कम्पनीका मालिक सुलेमान खालिद अलहाजिरीले जबर्जस्ती गाडी चलाउन लगाउँदा दुर्घटना भएको श्रीमानले टेलिफोनमा बताएको उनले सुनाइन् ।
कहिलेकाही हुने फोन सम्पर्कमा कुमारले आफ्नो रिहाइका लागि देशबाट कुनै पहल भए/नभएको सोध्ने गरेको उनले बताइन् । ६ वर्षदेखि वैदशिक रोजगारीबाट कमाएको रकमले घर खर्च चलाउँदै आएका कुमार जेल परेपछि परिवारको विचल्ली भएको छ । कुमार र अम्बिकाका तीन सन्तान छन् । उनीहरूलाई पढाउन अम्बिका चितवन बसेकी छन् । सवारी दुर्घटनामा परेपछि कुमारलाई तीन दिन साउदी प्रहरीले हिरासतमा लिएर छाडेको थियो । छुटेपछि काम गर्न थालेका उनलाई कम्पनीले पनि नआत्तिइकन काम गरे सबै मिलाउने आश्वासन दिएको थियो ।
गत असोजमा दसैं मान्न घर जानुअघि अम्बिकाले श्रीमान्‌लाई सम्पर्क गर्न खोज्दा राती अबेरसम्म अनलाइन आएनन् । असोज १० मा उनका साथीले फोनमा कुमार जेल गएको बताएका थिए । ‘जेल भनेपछि छाँगाबाट खसेजस्तै भएँ । उहाँ एक्लो छोरो हो, सासु ससुरालाई के भनौं भएँ,’ अम्बिका भन्छिन् । श्रीमानको रिहाइका लागि कुटनीतिक तहबाट पहल गरिदिन आग्रह गर्दै उनी परराष्ट्र मन्त्रालय र कन्सुलर विभाग पनि पुगेकी थिइन् । जेल परेका श्रीमानसँग टेलिफोन गर्न यहीँबाट रकम पठाउने गरेको उनले सुनाइन् ।
श्रीमान रिहाइका लागी घाइतेलाई क्षतिपूर्ति दिनुको विकल्प नरहेको उनको वुझाइ छ । कुमार रानामगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन अभियान पनि सुरु गरिएको छ । ‘वैशाख १ बाट अभियान सुरु गरेका हौं, अहिलेसम्म १ लाख ५० हजार संकलन भएको छ,’ अभियानका अगुवा कृष्णप्रसाद ढकालले भने ।
कान्तिपुरबाट साभार