आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024
FLASH NEWS

एपेक्स घोटाला प्रकरण: बगिरहेको खोला, पोखरी र खोल्सो धितो राखेर ४८ करोड ऋण’

परदेशी खबर ९ चैत्र २०७४, शुक्रबार २१:३१ मा प्रकाशित ( ६ साल अघि) १६७ पाठक संख्या

 

मार्च २३,

 

रु. डेढ अर्बभन्दा बढी घोटला भएको आरोपमा अनुसन्धान भइरहेको तत्कालीन एपेक्स डेभलपमेन्ट ब्यांकले बगिरहेको खोला, खोल्सा, पोखरी र पाखो धितो राखेर रु. ४८ करोडभन्दा बढी ऋण प्रवाह गरेको भेटिएको छ ।

हिमालखबरलाई प्राप्त प्रतिवेदनमा एपेक्सको सञ्चालन र व्यवस्थापन समितिले मिलेमतोमा प्रचलित मूल्यभन्दा धेरै देखाएर यस्तो कमसल जग्गाको धितोमा ऋण प्रवाह गरेको औंल्याइएको छ ।

एपेक्सले म्याङलुङ हाउजिङ, अरुणिमा हाउजिङ, आरोहण हाउजिङ, अदिती इन्टरप्राइजेज, श्री ओम श्री मल्टीप्रपोज इन्डष्ट्रिज, जि एण्ड जि कफिलाई खोल्साको छेऊको जग्गा धितो राखी रु. ३१ करोड ५७ लाख कर्जा दिएको थियो । त्यस्तै, न्यू टाइम स्टाइल, घराना सारी, संस्कृति सारी, सूर्य कलेक्सन, जय सिद्धिगणेश रोडालाई डाडा तथा पाखो क्षेत्रको जग्गा धितो लिई रु. १२ करोड २६ लाख ऋण दिएको भेटिएको छ ।

एपेक्समा मर्जर हुनुभन्दा अगाडि नै तत्कालीन रोयल मर्चेन्ट फाइनान्सले एनबीडीएस सुपर मार्ट र विनोद केसीलाई खोला बगिरहेको जमिन धितो राखेर रु. २ करोड २४ लाख कर्जा दिएको थियो । त्यस्तै, हजुरको हार्डवयेर र अनोज श्रेष्ठलाई पनि सोही संस्थाले पोखरी रहेको जग्गा धितो राखेर रु. २ करोड ८० लाख कर्जा दिएको केन्द्रीय ब्यांकको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र ब्यांकको स्थलगत निरीक्षणमा गएको समितिले २०७३ चैतभित्र उक्त कर्जा असुलउपर गर्न र असुल नभएमा त्यसमा संलग्न व्यवस्थापन तह र अन्य कर्मचारीहरुलाई प्रचलित कानून तथा कर्मचारी विनियमावली अनुसार कारवाही गरी जानकारी गराउन निर्देशन दिएको थियो ।

नेपाल राष्ट्र ब्यांकको निरीक्षण टोलीले २०७३ भदौ २६ देखि कात्तिक ३ सम्म एपेक्सको स्थलगत निरीक्षण गरी त्यसको प्रतिवेदन २०७३ पुस २८ मा राष्ट्र ब्यांकको विकास ब्यांक सुपरीवेक्षण विभागमा बुझाएको थियो ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षताको नीति निर्देशन समितिले २०७३ माघ २ गते ११ बजेट वैठक बसेर सम्बन्धित संस्थाका पदाधिकारीहरुलाई कारबाही गर्न गभर्नर डा. चिरञ्जिवी नेपालसमक्ष सिफारिस गरेको थियो ।

२०७३ फागुन १८ मा राष्ट्र ब्यांकको बोर्डले एपेक्समा विशेष निरीक्षण गर्ने निर्णय गरेको थियो र गत असारमा यो विशेष निरीक्षण समितिले प्रतिवेदन दिएको थियो । यो प्रतिवेदनमा पनि डेढ अर्बभन्दा बढीको अनियमितता औंल्याइएको थियो ।

तर, यति ठूलो घोटला गरिएको थाहा हुँदाहुँदै एनसीसी ब्यांकमा मर्जर गराउन केन्द्रीय ब्यांकले अनुमति दिनुले यसमा केन्द्रीय ब्यांकको भूमिका समेत शंकास्पद देखिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै तत्कालीन अध्यक्ष विष्णु धितालसहित एपेक्सका सञ्चालक र सम्बन्धित अधिकारीहरुमाथि छानबिन भइरहेको छ । कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको प्रहरीको आरोप छ ।

by हिमालखबर