आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

कुवेत गएकी महिलाको साउदीमा शव फेला 

परदेशी खबर ७ माघ २०७४, आईतवार २१:०२ मा प्रकाशित ( ६ साल अघि) २८४ पाठक संख्या

 

जनवरी २१,दोहा (कतार) — वैदेशिक रोजगारको लागि कुवेत गएकी रातामाटा-४, पाखापानी रोल्पाकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको शव साउदी अरबमा भेटिएको छ ।

राजधानी रियादबाट झण्डै एक हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा उनको शव फेला परेको हो । त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएको हो । अस्पतालमा तीन महिनादेखि शव भएपछि नेपाली दूतावास र खत्रीको परिवारलाई सूचना थिएन ।
नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर), मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र माग गरेको बताए । ‘चिन्ताकुमारीको कसरी मृत्यु भयो ? कुवेतबाट साउदी कसले ल्यायो ? अस्पतालमा शव कसरी बस्यो भन्ने विषयमा हामीले खोजी गरिरहेका छौं,’शर्माले कान्तिपुरलाई भने,‘उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।’
वैदेशिक रोजगार विभागका अनुसार २०७३ मंसिर १५ गते कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको छ । उनलाई एजेन्टले क्लिनर काममा नभई घरेलु कामदारमा पठाएको खत्रीका बावु धनीराम डाँगीले बताए ।
कुवेत गएको तीन महिनापछि मालिकले साउदीमा पठाएको डाँगीले बताए । खत्रीका तीन बालबच्चाहरु छन् । उनी कुवेत दोस्रो पटक गएकी थिइन् । उपनियोग प्रमुख शर्माले स्पोन्सर पत्ता लगाउन कुवेतस्थित नेपाली दूतावाससँगको सहयोग लिने बताए । ‘स्पोन्सर पत्ता लगाउन सकियो भने शव पठाउने खर्च स्पोन्सरबाटै ब्यहोर्न लगाइनेछ,’ उनले भने,‘स्पोन्सर फेला परेन भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड वा अन्य स्रोतबाट जुटाइनेछ ।’
होम कार्की / कान्तिपुरबाट