आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

नेपाली दूतावास सन् २०१७मा कुवेतबाट घरेलु कामदार सहित ४०४ जनाको उद्धार गर्न सफल

परदेशी खबर ३ माघ २०७४, बुधबार १७:४४ मा प्रकाशित ( ६ साल अघि) ४७७ पाठक संख्या

 

कैदी जीवन बिताइरहेका १८ जना नेपालीलाई नेपाली राजदुतावासको पहलमा माफी

परदेशी खबर/जनवरी १७, कुवेत । सन् २०१७ मा कुवेतमा विभिन्न प्रकारका समस्या एवं संकटमा परेका नेपाली घरेलु महिला कामदार सहित विभिन्न समस्यामा परेको ४०४ जना नेपाली कामदारको उद्धार गर्न कुवेत स्थित नेपाली राजदुतावास सफल भएको प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

विभिन्न संकट तथा समस्या समाधान (Problem Solving), खाने बस्ने व्यवस्था (Accommodation and Meals), उद्दार (Rescue) एवं नेपाल फिर्ता पठाउने कार्य (Repatriation) निरन्तर रूपमा सम्पन्न गरी २४९ जना नेपाली घरेलु महिला कामदारहरूलार्इ नेपाल फिर्ता पठाउन सफल भएको हो ।

कम्पनी क्षेत्रका कामदारहरूले भोग्नु परेका विविध समस्याहरूको समाधान गर्नुका साथै अप्ठयारोमा परेका नेपालीहरूलार्इ उद्दार गरी २०१७ भरिमा १५५ जनालार्इ समेत नेपाल फिर्ता पठाएको छ । सो बर्ष गम्भीर रोगका कारण समस्यामा परेका १७ जना नेपाली कामदारहरूलाई उपचार गराउन आवश्यक सहयोग गरी उपचार पश्चात् नेपाल फिर्ता पठाउन सफल भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसको अतिरिक्त गैरकानूनी अवस्थामा रहेका र अन्य कारणबाट कुवेत सरकारद्वारा नेपाल फिर्ता पठाउने अवस्थामा रहेका १८४० जना नेपाली कामदारहरूलार्इ राजदूतावासले यात्रा अनुमतिपत्र (Travel Document) एवं अन्य आवश्यक सहयोग उपलव्ध गरार्इ उनीहरूको नेपाल फिर्तीको कार्यलार्इ सहजीकरण गरेको छन ।
सन् २०१७ मा कुवेतमा १५ जना पुरूष र १६ जना महिला गरी जम्मा ३१ जना नेपाली कामदारहरूले जीवन गुमाउन पुगेका थिए भने राजदूतावासबाट जीवन गुमाउन पुगेका कामदारहरूको शव तुरून्तै नेपाल पठाउने व्यवस्था गर्नुका साथै मृतक कामदारले क्षतिपूर्ति (Compensation) पाउन सक्ने अवस्थामा सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने कार्य समेत राजदुतावासले शीघ्रताका साथ अघि बढाइएको छ ।

साथै विगतमा कुवेतमा मृत्यु भएका नेपाली कामदारहरूको क्षतिपूर्ति लिने कार्य राजदूतावासले उच्च प्राथमिकताका साथ अघि बढाएर कानून व्यवसायीको सहायता लिई मुद्दा लडेर गतवर्ष कूल नेपाली रूपैया पाँच करोड छब्बीस लाख त्रिचालीस हजार मृतकहरूका परिवारले पाउने गरी नेपाल पठाउन सफल भएको बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

यसैगरी कुवेतको कारागारमा विभिन्न अपराधको सजाय भोगिरहेका नेपालीहरूको सजाय माफी गरिदिन यस राजदूतावासका महामहिम राजदूत यज्ञबहादुर हमालले कुवेत सरकारका उच्च पदाधिकारीहरूसँग विभिन्न समयमा भेटघाट गरी आग्रह गर्नु साथै राजदूतावासबाट सोको लागि लिखित रूपमा अनुरोध पनि गरिएको थियो । फलस्वरूप कुवेतको कारागारमा रहेका ७० जना नेपालीहरूमध्ये गत बर्ष १८ जनाले माफी (Pardon) पाउन सकेका छन् जसमध्ये ६ जनाको सजाय माफी भर्इ नेपाल फर्किसकेका छन भने १२ जनाको सजायको अवधि कम गरिएको छ ।