आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024
FLASH NEWS

वैदेशिक रोजगारका नाममा ठग्नेको जालो एयरपोर्टदेखि श्रम कार्यालयसम्म

परदेशी खबर २ जेष्ठ २०७३, आईतवार ०५:२३ मा प्रकाशित ( ८ साल अघि) २२० पाठक संख्या

image

२ वैशाख, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले स्थापना गरेको हटलाइन नम्बर ११७७ मा विदेशमा पुगेर अलपत्र परेको गुनासो गर्दै दैनिक सयौं नेपालीहरुको फोन आउँछ ।

२४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बरमा फोन गर्ने अधिकांशले म्यानपावर र दलालहरुले आफूलाई फसाएको भन्दै उद्धारका लागि आग्रह गर्छन् ।

कतिपय त यस्ता कारुणिक रोदनसहितका फोनहरु आउँछन् कि प्रहरीलाई नै स्तब्ध बनाउँछ । त्यसरी फोन गर्नेहरुमा अधिकांश महिलाहरु छन् । पछिल्लो समय आएका केही फोन यस्ता थिए कि वैदेशिक रोजगारको नाममा नेपाली चेलीहरुलाई विदेश पठाउने विरुद्धको कारबाहीमा अभियान नै चलाउनै पर्ने देखियो ।

त्यसैले अपराध महाशाखाले आफ्ना अधिकांश जनशक्ति नेपाली महिलालाई विदेश पठाउने जालोको खोजिमा परिचालन गर्‍यो ।

बिमानस्थल मुख्य निशाना

वैदेशिक रोजगारीमा ठगी गर्नेहरुको खोजी गर्न गत सोमबार बिहान करिब १० बजे अपराध महाशाखाको टोलि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्यो । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले एसपीको नेतृत्वमा टोली विमानस्थलमा पठाएका थिए । विशेष गरी खाडी मुलुक जाने विमानहरुको उडान तालिका हेरेर महाशाखाको टोली विमानस्थल पुगेको थियो । किनकि तिनै जहाजहरु चढेर नेपाली चेलीहरु पैसाका लागि विदेश जाँदै थिए ।

विमानस्थल पुगेको टोली अध्यागमन पास भैसकेर प्रतिक्षामा बसिरहेका नेपाली महिलाहरु भएका ठाउँमा पुग्यो । जहाँ केही चेलीहरु हातमा पासपोर्ट बोकेर पैसा कमाउने रंगीन सपनासहित विदेश जाने तयारीमा थिए । तिनै चेलीहरुको भिडमा थिए महोत्तरीकी उर्मिला श्रेष्ठ र संखुवासभाकी मुना विक ।

प्रहरीलाई शंका लागेर सोधपुछ थाल्यो । त्यसबाट यस्तो रहस्योद्घाटन भयो कि प्रहरी नै चकित पर्‍यो । घरेलु कामदारका लागि दुवई जान लागेकी उर्मिलाको पासपोर्टमा ‘रि-इन्ट्री’ अर्थात पुनः जान लागेको स्टिकर टाँसिएको थियो । जबकी उर्मिला पहिलोपटक विदेश जान लागेकी थिइन् ।

यसबाट प्रहरीलाई थाहा भयो कि सरकारले नयाँ महिला कामदार विदेश पठाउन कडाइ गरेपछि म्यानपावर, दलाल र सरकारका कर्मचारीहरुको मिलेमतोमा ‘रि-इन्ट्री’को धन्धा चलिरहेको छ ।

संखुवासभाकी मुना विक भने कुनै म्यानपावर विना नै ओमानको लागि उड्ने तयारीमा थिइन् । विना कुनै एजेन्ट नेपाल सरकारले ओमान जान रोक लगाएको छ । तर, उनी भने श्रम स्वीकृतीसहित उड्ने तयारी गरिरहेको भेटिएपछि महाशाखाले मुना र उर्मिला दुबैलाई नियन्त्रणमा लियो ।

जालो श्रम कार्यालयसम्म

गलत प्रक्रियाबाट विदेश जान लागेका दुई महिलालाई विमानस्थलबाट उद्धार गरेपछि महाशाखाको टोलीले उनीहरुसँग जोडिएको सञ्जालको खोजी सुरु गरेको थियो । अनुसन्धानको क्रममा गलत बाटोबाट वैदेशिक रोजगारका लागि विदेश जान लागेका महिलाहरुको लागि काम मिलाइदिने नाममा विभिन्न ट्राभल एजेन्सीदेखि मेडिकल सेन्टरहरु समेत सक्रिय हुने गरेको भेटिएको छ ।

अवैधरुपमा विदेशमा कामदार पठाउने, श्रम विभागको नक्कली होलोग्राम र श्रम स्वीकृतिको स्टिकरसमेत बनाइदिने लगायतका कार्यमा संलग्न भएको भन्दै प्रहरीले हिमालय रेडपाण्डा टुर्स एण्ड ट्राभल, इन्टरनेश्नल ट्रेड लिंक म्यानपावर, सिटी टुर एण्ड ट्राभल लगाएतका ट्राभल एजेन्सीमा प्रहरीले छापा मार्‍यो ।

कारबाहीमा परेर बर्खास्त भएका श्रम कार्यालय काठमाडौंका कर्मचारी सुशील शाक्यसहित ट्राभल एजेन्सी सञ्चालकहरु अमृत ढकाल, राजेश ढकाल र फडिन्द्र तामाङलाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।

स्वीकृती विना नै वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परिक्षण गर्ने गरेको आरोपमा रेज मेडिकल सेन्टरका सञ्चालक दिलकुमार राइलाई पनि अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । राईको साथबाट स्वास्थ्य परीक्षणमा पास भएको भन्दै दिइने ७० हजार थान स्टिकरसमेत बरामद भएको महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले बताए ।

प्रहरीले विमानस्थलदेखि श्रम कार्यालयसम्म धावा बोलेपछि गलत बाटोबाट विदेश उड्न लागेका ७ जनाले आफ्नो उडान रद्ध गरेको महाशाखाले जनाएको छ ।

जालो खोज्दै छौ  एसएसपी खनाल

नक्कली श्रम स्वीकृतिदेखि पहिलोपटक विदेश  जान लागेका महिलाहरुलाई ‘रि-इन्ट्री’को भिसा दिएको भेटिएपछि अपराध महाशाखाको टोली छापा मार्न काठमाडौंको ताहाचलस्थित श्रम कार्यालय पुगेको थियो ।

प्रहरी टोलीले श्रम कार्यालयमा रहेका तथ्यांकहरुसमेत लिएर अनुसन्धान गरिरहेको छ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारका लागि गएका महिलाहरुको एक साताको तथ्यांक महाशाखाले ल्याएको छ । श्रमको तथ्यांक र विमानस्थलबाट बाहिरिनेको संख्या मेल खान्छ कि खाँदैन भन्ने महाशाखाले अनुसन्धान गरिरहेको एसएसपी खनालले अनलाइनखबरलाई जानकारी दिए ।

श्रम कार्यालयका पूर्व कर्मचारीसमेत पक्राउ परेकाले गलत प्रक्रियाबाट विदेश गएकाहरुको रेकर्ड मेटिएको हुनसक्ने भन्दै महाशाखाले अनुसन्धान अगाडि बढाएको हो ।

एसएसपी खनाल भन्छन्, ‘गलत नियतले श्रम स्वीकृतिदेखि रि-इन्टि्रसम्मको स्वीकृति दिएर रेकर्डहरु मेटिएको हुनसक्छ । हामी अनुसन्धान गर्दैछौं ।’

नेपाली चेलीहरुलाई गलत बाटोबाट विदेश पठाएर विचल्ली बनाउने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने गरी कारबाही अगाडि बढाइने एसएसपी खनालको दाबी छ ।

त्यसो त वैदशिक रोजगारको लागि विदेश जानेहरु पनि आफै सचेत हुनुपर्ने प्रहरीको सुझाव छ । अर्काको देशमा पुगेर दुःख पाउनु पहिले नै विचार गर्नुपर्छ, कुन कम्पनिमा जान लागेको हो, के कामको लागि हो, सेवा सुविधा कस्तो हुन्छ भन्ने जानकारी लिएर मात्रै जान प्रहरीले सुझाव दिएको छ ।

साभार :- अन्लाईनखबर