आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

बालुवाटार हिँडेका प्रचण्ड आधा घन्टा कहाँ हराए ?

परदेशी खबर २३ बैशाख २०७३, बिहीबार १६:२२ मा प्रकाशित ( ८ साल अघि) २१८ पाठक संख्या

यसरी ‘फ्लप’ भयो शेरबहादुरको योजना 

image

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा आफ्नै गबन्धनको सरकार ढाल्ने अन्तिम निर्णयमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार एकाएक परिवर्तन भए । 
 

केपी ओली नेतृत्वको गठबन्धन सरकार ढाल्न बुधबार दिनभर सक्रिय भएका अध्यक्ष प्रचण्डले बिहीबार बिहान आफू सरकार ढाल्ने निर्णयबाट पछि हटेको स्पष्ट संकेत दिए । 

मंगलबारबाट शुरु भएको सरकार परिवर्तनको अभ्यासमा प्रधानमन्त्री हुने योजनासहित प्रचण्डले बुधबार ओली सरकार ढाल्ने निर्णय स्थायी समितिबाट गराए । 

सरकार ढाल्ने खेल भइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले–एमाओवादीबीच सम्बन्धविच्छेद गराउन सफल भएको चर्चाले नेपाली राजनीतिकवृत्त तातियो । 

सेनाको हेलिकोप्टरमा गोरखा जानुअघि आफ्नो नेतृत्वमा सरकार बन्न लागेकाले समर्थन गर्न भन्दै प्रचण्ड बालुवाटार पुगेका छ । 

बारपाकमा केही घन्टा बिताएर आएपछि प्रचण्ड प्रधानमन्त्री हुने मुडमा ओली सरकार गिराउने अभियानमै थिए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री बन्नका लागि आफ्नो पूर्ण समर्थन रहेको बताएपछि हौसिएका प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय आफ्नै पार्टीबाट संकटमा पर्यो । 

गोरखाबाट आएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सरकार निर्माणको समर्थन लिएका प्रचण्ड एमालेको समर्थन खोज्दै बुधबार राति नौ बजेको आसपासमा लाजिम्पाटबाट बालुवाटार निस्के । 

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा उर्जामन्त्री टोबहादुर रायमाझीलाई पछि लाएर सबैभन्दा अगाडि लाजिम्पाटबाट निस्केका प्रचण्ड बाटैबाट गायव भए । 

उपाध्यक्ष श्रेष्ठ र उर्जामन्त्री रायमाझी प्रमको सरकारी निवास बालुवाटारमा राति नौ बजे पुग्दा त्यहाँ प्रचण्ड थिएनन् । 

बालुवाटार पुगेका श्रेष्ठ र रायमाझीसँग अर्थमन्त्री विष्णु पौडेलको प्रश्न थियो, ‘खै त  प्रचण्डजी, कहाँ जानुभयो ?’ उत्तरमा दुबै नेता मुस्काए मात्रै । 

उपाध्यक्ष श्रेष्ठ र उर्जामन्त्री रायमाझी बालुवाटार छिरेको करिब आधा घन्टापछि अर्थात साढे नौ बजे प्रचण्ड एक्लै बालुवाटार छिरे । 

लाजिम्पाट र बालुवाटारको बीचको केही मिनेटको दुरीमा आखिर प्रचण्ड आधा घन्टासम्म कहाँ हराए ? यसको उत्तर एमाओवादीका नेता र मन्त्रीहरुले पनि दिएका छैनन् । 

तर, बुधबारसम्म सरकार ढालेर प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डले यही आधा घन्टामा ‘यू टर्न’ लिएको अनुमान गरिएको छ । 

प्रचण्ड भन्दा आधा घन्टाअघि बालुवाटार छिरेका श्रेष्ठ र रायमाझीको अनुहारको भावले प्रम ओलीको किचेन क्याबिनेटमा भने सकारात्मक सन्देश दिइसकेको थियो । 

प्रचण्डका बाधक उनकै मन्त्री

स्थायी समितिबाट सरकार ढाल्ने निर्णय गराउन सफल प्रचण्डको प्रधानमन्त्री हुने बाटो ओली सरकारमा रहेका उनकै मन्त्रीहरु बाधक बने । 

 

कांग्रेस सभापति देउवाको उक्साहटमा परेका प्रचण्डलाई सरकार ढाल्ने योजना सफल हुन नदिन उनकै मन्त्रीले रोके । 

 

स्रोतका अनुसार प्रचण्डको योजना सफल बनाउनका लागि कृषि मन्त्री हरिबोल गजुरेल मात्रै उभिएका थिए । 

प्रचण्डकै विश्वासपात्र मानिने गृहमन्त्री शक्ति बस्नेत र उपप्रधान तथा उर्जामन्त्री टोबहादुर रायमाझीसहितका मन्त्रीहरु ओली सरकार कायमै रहनुपर्ने पक्षमा उभिएका थिए ।

ओली सरकारका मन्त्रीहरुले अहिलेको सरकार ढालेर अर्को सरकार बनाउँदा देश अस्थिरतातर्फ धकेलिने बताउँदै कुनै हालतमा यही सरकारलाई कायम राख्नुपर्ने अडान लिएका थिए । 

आफ्नै पार्टीबाट पठाइएका मन्त्रीहरुसमेत ओली सरकार गिराउने आफ्नो कदमको विपक्षमा उभिएपछि प्रचण्ड धर्मसंकटमा परेका हुन् । स्थायी समितिका सदस्य र आफ्नै पार्टीका मन्त्रीहरु समेत ओली सरकार ढाल्ने पक्षमा नउभिएपछि प्रचण्डले देउवालाई ‘धोका’ दिन बाध्य भए । 

प्रधानमन्त्री बिहानै खुसी 
 

मंगलबारदेखि सुरु सरकार ढाल्ने खेलबाट तनावमा रहेका प्रधानमन्त्री ओली बिहीबार बिहानै बालुवाटारमा मुस्काए । 

उनलाई बालुवाटरस्थित सरकारी निवासमा बिहानै देख्ने सहयोगीहरु भन्छन्, ‘प्रधानमन्त्रीज्यूको भावभंगीले सरकार नढल्ने देखाउँथ्यो । उहाँ बिहानै हँसिलो मुहारका साथ प्रस्तुत हुनु भएको थियो ।’ 

स्रोतका अनुसार सरकार ढल्नेबारे बिहीबार दैनिक पत्रिकामा लेखिएका समाचार पढेपछि प्रम ओलीले पत्रकारहरुले कुरो बुझ्न नसकेको आशय व्यक्त गरेका थिए । 

ओलीको सन्देश लिएर प्रचण्डकहाँ गौतम
 

जनयुद्धको समयदेखि नै प्रचण्डको निकटमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले नै ओलीलाई नवौं महाधिवेशनबाट अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका थिए । 

बिहीबार बिहान आफूलाई अध्यक्ष बनाउन योगदान दिएका गौतमलाई ओलीले प्रचण्डकहाँ जाने दूतकारुपमा छाने । 

संविधानमा रहेको जटीलता र ऐन नियमको अफ्ठेरोबारे बुझिदिएर सरकार ढाल्ने खेलमा नलाग्न ओलीले गरेको आग्रहसहित गौतम लाजिम्पाट पुगे । 

गौतमसँग भएको छलफलका क्रममा सरकार परिवर्तनका लागि प्रचण्डले चालेको कदमबाट आउने संकटबारे गौतमले ‘कन्भिन्स’ गराउन सफल भएको स्रोतको दाबी छ । 

संसदको नियमावली पनि नआएको अवस्थामा सरकार ढाल्ने खेलमा लाग्दा संवैधानिक जटिलता आउने कुरा गौतमले प्रचण्डलाई बताएका थिए । 

जवाफमा प्रचण्डले आफूले संसदीय जटिलताबारे नबुझेको बताउँदै ओलीलाई ‘ग्रीन सिग्नल’ दिएर वामदेवलाई पठाएका थिए ।

प्रचण्डको सन्देशले बालुवाटारमा रमाइरहँदा कांग्रेस सभापति देउवा लाजिम्पाट पुगे । जहाँ देउवालाई निराशा हात लाग्यो । प्रचण्डले प्रष्टसँग भने, ‘अहिले म सरकार परिवर्तनको पक्षमा छैन । यही सरकारले नीति तथा कार्यक्रम ल्याउँछ ।’

– अन्नपूर्ण पोस्ट