आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS

राष्ट्रिय सभा निर्वाचन परिणाम

परदेशी खबर २५ माघ २०७४, बिहीबार ०३:५६ मा प्रकाशित ( ६ साल अघि) २३० पाठक संख्या

एमालेको २९ कांग्रेस १३, माओवादी १०, राजपा र फोरम २/२

माघ २५, काठमाडौँ l राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले २९ सिटसहित बहुमत ल्याएको छ । कांग्रेसले १३, माओवादी केन्द्रले १०, राजपा र फोरमले २/२ सिट ल्याएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा ललितपुरको जावलाखेलस्थित केन्द्रमा मतदान गर्दै एक मतदाता ।

५९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट ३ सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । प्रदेश २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरम सबैले दुई/दुई सिट निर्विरोध भइसकेका हुन्। प्रदेश ३ मा ५ सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने कांग्रेसबाट २ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका छन् । प्रदेश ४ मा एमालेले ३, कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जित्न सफल भएका छन् । प्रदेश ५ मा पनि एमालेले नै बढी सिट जितेको छ । यस प्रदेशमा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ जना विजयी भएका छन् ।

प्रदेश ६ मा एमालेबाट ५ र माओवादीबाट ३ जना निर्वाचित भएका छन् । यस्तै प्रदेश ७ मा एमालेका ४, कांग्रेसका २ र माओवादीका २ सदस्य विजयी भएका छन् ।
प्रदेश २ मा भने सबै निर्विरोध भएका हुन् । उम्मेदवारी मनोनयनकै प्रक्रियामा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै बुधबार मतदान भएको हो । प्रदेश ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव भएको हो । प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यक तथा अन्य तीन खुलासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान हो । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको थियो ।

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै संघ, प्रदेश र स्थानीय तहका सभाले पूर्णता पाउने छन् । प्रदेश र स्थानीय तहले यसअघि नै पूर्णता पाइसकेका थिए । संविधानले राष्ट्रिय सभा र प्रतिनिधिसभालाई संयुक्त रूपमा संघीय संसद् भनेकाले चुनावको परिणामसँगै त्यसले पूर्णता पाउनेछ । राष्ट्रिय सभा निर्वाचन पर्खनुपरेकै कारण आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम निर्वाचन सम्पन्न भएको दुई महिना भइसक्दासम्म दिन सकेको छैन । संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले आफूले पाएको सिटको कम्तीमा ३३ प्रतिशत महिला पुर्‍याउनै पर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फको सिट जोड्दा ३३ प्रतिशत पुर्‍याउन नसक्ने दलको हकमा अपुग महिला संख्या समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने भएको प्रतिनिधिसभाको परिणाम अड्किएको हो । अब राष्ट्रपति, उपराष्ट्रपति एव संघ तथा प्रदेशमा सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । साथै संसदीय प्रक्रियाअनुसार संघ र प्रदेशमा सरकार गठनबाँकी छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभामा ९९ दशमलव ५२ प्रतिशत मतदान भएको जनाएको छ । ६ वटै प्रदेशका १ हजार ६ सय ७७ मतदातामध्ये ८ जना अनुपस्थित रहे । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदान उत्साहजनक ढंगले भएको बताए ।
प्रदेश ३ मा एमालेबाट सिंगबहादुर विश्वकर्मा, रामचन्द्र राई, दिलकुमारी रावल थापा, उदया शर्मा पौडेल र बलरामप्रसाद बाँस्कोटा विजयी भएका छन् ।

कांग्रेसका धनकुमारी खतिवडा र राधेश्याम अधिकारी तथा माओवादी केन्द्रका रामबहादुर थापा मगर (बादल) निर्वाचित भएका छन् ।

प्रदेश ३ मा राष्ट्रिय सभाका ८ सदस्यका लागि १४ उम्मेदवार प्रतिस्पर्धामा थिए । साभारः कान्तिपुर अनलाइनबाट