आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

मोतिपुर औद्योगिक घटनाबारे संयुक्त विद्यार्थी संगठनको आपत्ति

परदेशी खबर २६ आश्विन २०७८, मंगलवार १३:२७ मा प्रकाशित ( २ साल अघि) ५८२ पाठक संख्या

असोज २६, काठमाडौ । संयुक्त विद्यार्थी संगठनले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा केही दिन यता शृङ्खलाबद्ध रुपमा घटिरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले विजया दशमीको मुखमा सुकुमबासी जनताको अनाहकमा ज्यान जाने गरी घटना घटाइएको भन्दै घोर निन्दा र भर्त्सनासमेत गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिग्रहण नगर्दै गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम नै आज मोतिपुर क्षेत्र रणमैदान भएको प्रस्ट पारेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ । तसर्थ मोतिपुर घटनाका मुख्य दोषी लगायत सम्पूर्णलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही, मृतकलाई उचित क्षतिपूर्ति र घाईतेहरुको निःशुल्क उपचारका लागि जोडदार माग गर्दछौं ।’

मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीको समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् । जनताको संविधान प्रदत्त माग राख्दा, आन्दोलन गर्दा दमन नगर्न पनि उनीहरुले चेतावनी दिएका छन् ।

सो घटनामा ज्यान गुमाएका रमेश परियार लगायतमा श्रद्धाञ्जली ब्यक्त गर्दै उनीहरुले झडपको क्रममा घाइते भएका बर्दघाट–४ का बिजय सहनी, पाल्पा रिब्दिकोटका भिमबहादुर कार्की, नवलपरासी पश्चिमका बिष्णु परियार लगायतको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ छन् ।