आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अब सबै प्रकारका भिसामा विदेशीलाई युएईले प्रवेश दिने

परदेशी खबर १५ भाद्र २०७८, मंगलवार १२:४५ मा प्रकाशित ( २ साल अघि) २४३ पाठक संख्या

भदौ १५, काठमाडौं । खाडी मुलुक यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ । यूएईले सोमबार अगस्ट ३० देखि लागू हुने गरी विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको जनाएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र संक्रमणको दर कम भएपछि यूएईले रात्रीकालीन गतिविधिहरुलाई पनि खुकुलो बनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश, कंगो, भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो ।

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।

नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ । विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको श्रोतले बताएको छ ।

दैनिक सयौं युवाहरुलाई सेटिङमार्फत विदेश पठाउने गरिएकोमा करिब दुई महिनाअघि केही युवाहरुलाई विमानस्थलबाट फर्काइएपछि दलाल र कर्मचारीको साँठगाँठ बाहिर आाएको हो । विदेशस्थित नेपाली दूतावासहरुमा पेश भएका मागपत्र विभिन्न वहाना बनाएर प्रमाणीकरण गर्न रोक्ने र विमानस्थलबाट भिजिट भिसामा पठाउने गिरोह शक्तिशाली भएका कारण विमानस्थलबाट मानव तस्करी नरोकिएको श्रोतले बतायो । विभानस्थलमा एक लाख रुपैयाँ घुस दिनुपर्ने भन्दै दलालहरुले प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्म उठाउने गरेको बताइएको छ । मध्यान्ह अनलाइनबाट