केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता आएन कुनै प्रतिक्रिया


असार २३,काठमाण्डौ/ नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको बताइएको छ ।

नक्सालमा रहेको होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले अहिलेसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । तयसपछि उहाँहरूबीच अलग–अलग वार्ता भएको थियो । भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरूलाई कुनै प्रतिक्रिया दिनुभएन ।

वार्तामा सहभागी पार्टीका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको एकतालाई प्रभावकारी परिणामा लाने सम्बन्धमा गम्भीर रूपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताउनुभयो । वार्तास्थलमा रावलका साथै एमालेका महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको थियो ।

शीर्ष नेताबीच गएको जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो । त्यो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रूपमा सहमतिमा परिणत गर्न तनि दिनअघि कार्यदलको बैठक पुनः सुरुरु भएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराइ नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गरेर २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा संलग्न पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न सोमवार साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गएको जेठ ८ गते प्रतिनिधि सभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरू नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता माधवकुमार नेपाल पक्षबाट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त हुनुहुन्छ । रासस






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस