दुर्नामदेखि नडराउनेहरु नै रोमका निरो हुन रुचाउछन्

डा. विष्णु आभूषण

पहिलो शताव्दिवीच रोमका क्रुर शासक आफ्नै देश रोम जलिरहदा वाँसुरी बजाइरहेका थिए । भनिन्छ, वच्पनको प्रेमपिडाबाट विक्षिप्त बनेका सन्की र रोमका क्रुर राजा आफ्नो कुण्ठा र अधुरो प्रेमप्यास मेट्न अरुको पिडाबाट आनन्द लिन्थे रे !
वर्तमान नेपालको शासकको सन्की र अलोकपृय हरकतले आम नेपालीलाई निरोको त्यो प्रतिविम्व नरुचाउँदा नरुचाउँदै पनि वार वार सम्झाइरहेछ । अहिलेको सञ्चारका विविध माध्यमहरुबाट क्षण—प्रतिक्षण सम्प्रेषण भैरहेका प्रधानमन्त्रि र राष्ट्रपतिका काम कार्यवाहीका सम्बन्धमा आलोचना र प्रत्यालोचनाका शव्दावलीबाट किञ्चित पनि उहाँहरुलाई छोएको आभाष हुन्न । लाग्छ, हरेक दुर्नाम—वाच्यहरु सहन सक्ने उहाँहरुसंग गैडाको खाकभन्दा बाक्लो असंवेदनाका कवचहरु छन् । र, जो दुर्नामबाट डराउदैन, ऊ नै रोमका राजा निरो हुन रुचाउँछ ।
यतिखेर खडेरीमा डढेलोले जंगल डढाए जसरी कोरोना संक्रमणको भयानक डढेलोले समाज र समुदायलाई दनदनी जलाइरहेछ । तर हाम्रा शासकहरु मध्यरातमा जनताका अधिकारमाथि धावा वोल्दै देशको संविधानमा आगो झोसिरहेछन ।
कानूनी र संबैधानिक विषयलाई छाडेर एउटा सामान्य नागरिकलाई समेत यो अवस्थामा के यतिखेर निर्वाचन सम्भव छ भनेर प्रश्न गयौँ भने उसबाट चुनावका पक्षमा सकारात्मक जवाफ पाउन सकिन्न ।
कोरोना संक्रमण दुर्गम गाउवस्तिभित्र फैलिसकेको अवस्था छ । दिनदिनै यही कारण नागरिकहरुले ज्यान गुमाउनु परिरहेछ । प्रत्येक गाउँ, वडाहरु सिल गरिएकाछन् । तेश्रो भेरियन्टको संक्रमण फैलिन सक्ने आँकलन गरिदैछ । अनि जादुको छडि घुमाए जस्तै २, ४ महिनाभित्र कसरी कोरोना संक्रमणबाट मुलुकलाई मुक्त गराउन सकिन्छ त ! के देशका आम नागरिकहरुको जीवन भन्दा प्रधानमन्त्रि केपी ओलीलाई आफ्नो कुर्सीको महत्व वढी हो र त्यही कुर्सी जोगाउन यी तमाम नाटकहरु राष्ट्रिय राजनीतिमा मञ्चन गरिरहनु परेको हो ।
सनातनदेखि गरिदै आएका परम्परागत धार्मिक साँस्कृतिक विधि विधानहरुलाई समेत थाँती राखेर ज्यान जोगाउने उपायका लागि जनताहरु पेटमा पटुकी कसेर घरभित्र वन्दि जीवन विताउन वाध्य भैरहेका छन् । यो अवस्थामा मध्यरातलाई रोजेर आयु नसकिदै संसदको गला निमोठ्दै जनतालाई पुन निर्वाचनको मैदानमा धकेल्न खोज्नु निरो मानसिकता भन्दा के कम छ ! एकातिर प्रधानमन्त्रि चुनावी प्रचार प्रसारका लागि जनतालाई मानवीय गतिविधितिर लाग्न उत्प्रेरित गरिरहेकाछन् भने अर्कोतिर कोरोना संक्रमणको महामारीबाट जगजगी भैरहेका मानव समुदायलाई जोगाउन व्यापार,व्यावसाय, कृषि, मजदुरी, वच्चाहरुको शैक्षिक पठन पाठन सबै ठप्प गराउदै नेपाल सरकारको तर्फबाट नै जिल्ला, पालिका र वडातहसम्म निषेधाज्ञा जारी भैरहेको छ ।
शायद यो असंबैधानिक कदमका विरुद्ध प्रतिपक्ष दलहरुले सडक तताउलान भनेर नै कोरोना नियन्त्रणको नाममा फेरि सरकारको तर्फबाट सार्वजनिक स्थानमा भीडभाडजन्य गतिविधि हुन नदिन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएकोछ । राष्ट्रपति भण्डारीबाट गएको ८ र ९ गते मध्यरातवीच भएको संसद विघटनको घोषणाले निसन्देह प्रतिपक्षमा रहेका दलहरुलाई समेत चिढाएको छ । कोभिड १९ रोकथामका लागि दिलो ज्यानले सरकारलाई भौतिक, नैतिक हरेकढंगबाट सहयोग पुर्याउदै आइरहेको नेपाली कांग्रेस लगायत दलहरुलाई जवर्जस्ती सडकमा धकेलेर एउटा अनौठो ताण्डव नेपाली राजनीतिमा भित्र्याउने दुष्चेटा भएको छ ।
स्पष्ट छ, प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा भएसँगै त्यसको विरोधमा कार्यक्रम हुन सक्ने आँकलन गरेर गृहसचिवद्धारा आकस्मिक सुरक्षा बैठक डाकेर सार्वजनिक स्थानमा मानिसलाई भेला र भीडभाड गर्न नदिन निर्देशन दिइएको हो । संक्रमण र महामारीका कारण जनताको जिउ असुरक्षित होला भन्ने मनसायसँग त्यो निर्देशनको निहितार्थ विलकुलै जोडिएको छैन । गृहको यो निर्देशनसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हुन सक्ने दल तथा विभिन्न पेसाकर्मीका सम्भावित सडक प्रदर्शनलाई रोक्न सरकारले आन्तरिक तयारी नै थालिसकेकोछ  ।
स्वभाविक प्रश्न हो—विना भिड, भेला र जमघट अब निर्वाचनकै प्रचारप्रसार चाहनेले पनि प्रचार प्रसार गर्न सक्ला त ? विना प्रचार प्रसार निर्वाचन सम्भव छ ? त्यसो भए सम्भव नहुने निर्वाचन घोषणा गर्न लगाएर अन्ततः सबै कारण भजाउँदै मुलुकलाई संकटकालतिर फसाउने दीर्घ योजनामा प्रधानमन्त्रि र राष्ट्रपति लागेका हुन भनेर अनुमान लगाउनले पनि त्यो आधार प्रसस्त पाएकाछन् । राज्यका जिम्मेवार तह र व्यक्तिबाट यसरी हुने विरोधाभाषपूर्ण गतिविधिले मुलुकलाई थप जटिल दुर्घटनातिर धकेल्ने निश्चित छ ।
राष्ट्रपतिले संसद घोषाणाको समय मध्यरात नै रोज्नुपर्ने कारण त झन कति अस्वभाविक र रहस्यात्मक छ भने सबैले अनुमान गर्न सकिन्छ यो कर्मसँग जोडिएको नियत त्यति नै कालो र अपारदर्शी पनि छ । समय र निर्णयको प्रकृति हेर्दा नै असम्भव काम हो । कम्तिमा पनि त्यो समय आम नागरिकहरुले भोग्दै आएको कोरोना लगायतका मन हुडल्ने चिन्ताबाट केही निमेष भए पनि वेखवर रहेर शरीर र मनलाई निद्रादेवीको काखमा सुम्पिदिने समय हो ।
संसद विघटनको त्यो समय रोजाई जति अस्वभाविक र रहस्यात्मक छ, त्यति नै निर्वाचनका लागि वर्तमान परिस्थिति सबैको लागि महाप्रतिकूल छ । यस्तो अस्वभाविक, रहस्यात्मक र जनताको प्रतिकूल हुने विषय किन प्रधानमन्त्रि र राष्ट्रपतिका लागि रोजाइभित्र पर्दछन् ? उहाँहरुको यो हठ, जिद्धी र सन्कीपनलाई तात्कालिन रोमका राजाको स्वभाव र व्यवहारसँग तुलना गरेर मात्र पनि पुग्दैन, किनकी निरोले त प्रायश्चित स्वरुप त्यही रोम जलिरहेको अग्निमा हाम फालेर आत्म दाह गरे, तर हाम्रा शासकको सन्किपनले त लोकतन्त्र र सदियौँ देखिको नेपालीहरुको त्याग समर्पण र संघर्षले निर्माण गरेको संविधान नै जलेर राख हुने अवस्था नआउला भन्न सकिन्न । यसकारण सत्ता सम्हालेका नेपालका वर्तमान शासकहरुलाई समयमै जनताको रोदनमा वाँसुरी वजाउने निरोको सन्काहा र अराजक वाटोमा अगाडि बढ्नबाट रोकेर संवैधानिक र लोकतान्त्रिक राजमार्गतिर अभिमूख गराउनु हामी सबै नेपालीको वर्तमान दायित्व बन्नपुगेको छ ।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस