बैशाख ३०,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको छ ।
बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतोले आफूनिकट सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् । रिसोर्टमा रहेका एक सांसदका अनुसार त्यहाँ १३ जना सांसद मात्र रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिने काँग्रेसको तयारी छ ।
अब देउवालाई बहुमतका लागि एमालेको नेपाल पक्षमा निर्वाचित सांसदको राजीनामा अनिवार्य भनेको छ । नेपाल पक्षले राजीनामा नदिए जसपाको उपेन्द्र र बाबुराम पक्षले साथ दिए पनि देउवा प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन । नयाँ सत्ता समीकरण बन्न एक सय ३६ सांसद आवश्यक हुन्छ । काँग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ (सभामुखबाहेक) र जसपासँग ३२ सांसद छन् । तर जसपाका १३ जना सांसदले साथ नदिँदा बहुमत नपुग्ने निश्चित रहेको छ ।