आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

निष्कर्षविहीन जसपाको पदाधिकारी बैठक , बिहीबारसम्म एकीकृत धारणा तय गरिने

परदेशी खबर २९ बैशाख २०७८, बुधबार २०:३० मा प्रकाशित ( २ साल अघि) ३४५ पाठक संख्या

बैशाख २९,काठमाडौं। जनता समाजवादी पार्टीले वैैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचार आएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।

लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उनले छलफल जारी भएकाले भोलि बिहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकीकृत निर्णय गरिने उनले बताए।

‘हाम्रो पार्टीको दुई खेमा होइन । फरक–फरक विचार छन् । यो स्वाभाविक हो, लोकतान्त्रिक​ पार्टीमा,’ भट्टराईले भने, ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौँ । छलफल जारी राख्छौँ र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौँ ।’

विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत रहेको भन्दै उनले भने, ‘अहिले निष्कर्षमा पुगिसकेका छैनौँ । भोलिसम्ममा निष्कर्षमा पुग्छौँ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडि बढिरहेका छौँ ।’

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई एकसाताको समय दिएकी छिन् । सो समय भोलि सकिँदै छ । यस समाचारलाई फरकधार बाट लिएको छ।