आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपालीहरुमाथि यात्रा प्रतिबन्ध बढ्दो, रोजगारमा जाने कामदार प्रभावित

परदेशी खबर २७ बैशाख २०७८, सोमबार १०:३१ मा प्रकाशित ( २ साल अघि) ५८६ पाठक संख्या

बैशाख २७,काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नेपालीमाथि यात्रा प्रतिबन्ध लगाउने विदेशी मुलुकहरुको संख्या थपिँदै गएका छन् । कोरोनाको दोस्रो लहर बढेपछि विदेशी मुलुकहरुले नेपालमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका कारण त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगारमा जाने कामदाहरहरु माथि परेको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमित र उक्त संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । आइतबार ८ हजार ८ सय ५० जना संक्रमित थपिएको र पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् ।

माल्दिभ्सले नेपाली कामदारका लागि वर्क पर्मिट बन्द गरेको बताएको छ । नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत र पाकिस्तानका नागरिकलाई वर्क पर्मिट दिन बन्द गर्ने माल्दिभ्स सरकारको निर्णय आइतबारबाट कार्यान्वयनमा आएको छ ।

यसअघि भिसा पाएका विदेशी कामदार माल्दिभ्स प्रवेश गरेमा तोकिएका होटलहरुमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम माल्दिभ्सको छ । माल्दिभ्समा निर्माण मजदुरदेखि नेपालका चिकित्सकहरुले रोजगारी गर्दै आएका छन् ।

नेपालमा कोरोना संक्रमित बढेपछि मलेसिया, सिंगापुर, जापान र कुवेतले प्रतिबन्ध लगाएकोमा आइतबार बेलायत पनि थपिएको छ । नेपालमाथिको प्रतिबन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायतद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख गरिएको छ । बेलायतले पछिल्लो १० दिन नेपालमा रहेका वा नेपाललाई ट्रान्जिट बनाएका विदेशी नागरिक बेलायत छिर्न नपाउने बताएको छ । बेलायतले अत्यावश्यक काम नपरेसम्म नेपाल यात्रामा नजान समेत आफ्ना नागरिकलाई सचेत गराएको छ ।

नेपाली माथिको प्रतिबन्ध बेलायतसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले पनि लगाएका छन् । उक्त मुलुकले स्वास्थ्य मापदण्डका तोकिएका शर्त पूरा गरेर भने आफ्ना नागरिकलाई प्रवेश अनुमति दिने बताएको छ । कोरोना भाइरसको महामारीले नेपाललाई आक्रान्त बनाएका बेला धेरै मुलुकले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेका छन् ।

उता साउदी अरबको रियादस्थित नेपाली दूतावासमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले तीन दिन सेवा स्थगित गरिएको जनाएको छ । दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै संक्रमण बढेका कारण भौतिकरुपमा उपस्थित भई गरिने सेवा प्रवाह रोकिएको जनाएको हो । यसअघि दूतावासका एक जना कर्मचारीमा संक्रमण देखिँदा सेवा मे ६ सम्म बन्द गरिएको थियो । यस समाचालाई मध्यान्हबाट लिएका हौ।