उपत्यकामा इन्धनको माग दोब्बर, तराईका जिल्लामा घट्यो माग

बैशाख १५,काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न काठमाडौं उपत्यकामा बिहीबार रातिबाट निषेधाज्ञा हुने भएपछि उपत्यकावासीले इन्धनको पर्याप्त जोहो गरेका छन् । मंगलबारदेखि पम्पमा सवारीसाधनको सामान्य लाइन देखिन थालेकोमा बुधबार बिहानदेखि नै उपत्यकाका अधिकांश पम्पमा बाक्लो लाइन थियो ।

प्रत्येक सवारीधनीले ‘फुल ट्यांकी’ तेल भरेका कारण उपत्यकाका केही पम्प दिउँसै रित्तिएका थिए । ललितपुरको एकान्तकुनास्थित गायत्रीदेवी आयल सेन्टरले दिउँसो ३ बजेपछि ‘पेट्रोल छैन’ लेखेर उपभोक्तालाई निराश पारेको थियो ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने आयल निगमको थानकोट डिपो प्रमुख अभिषेक ठाकुरका अनुसार मंगलबार र बुधबार सामान्य अवस्थाको तुलनामा धेरै तेल वितरण भएको छ । ‘बुधबार थानकोटबाट १० लाख ४३ हजार लिटर डिजेल र नौ लाख ५७ हजार लिटर पेट्रोल बिक्री भएको छ,’ उनले भने, ‘त्यस्तै मंगलबार नौ लाख ९३ हजार लिटर डिजेल र नौ लाख ९१ हजार लिटर पेट्रोल वितरण भएको छ ।’

मंगलबार र बुधबारको बिक्री परिमाण सामान्य अवस्थाको तुलनामा करिब तीन लाख लिटर बढी हो । ‘निषेधाज्ञा हुने भएपछि उपभोक्ताले बढी इन्धन सञ्चय गर्न खोजेको देखिन्छ,’ ठाकुरले भने । उनका अनुसार एक सातादेखि काठमाडौं उपत्यकामा डिजेलको माग बढिरहेको छ । निषेधाज्ञा हुने हल्ला र निर्णय भएपछि झन् माग बढेको उनले बताए ।

उपत्यकामा इन्धनको माग बढेपनि तराईका जिल्लामा भने घटेको छ । नेपालगन्जबाहेक अन्य कुनै जिल्लामा निषेधाज्ञा छैन । तर, सातादेखि कोराना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा आवातजावतमा कडाइ भएको छ । जसकारण नेपालको सस्तो तेल खरिद गर्न भारतीयहरू आउन छाडेका छन् ।

आयल निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख नकुल भण्डारीले एक सातायता इन्धन बिक्रीमा कमी आउन थालेको बताए । ‘मंगलबार दुई लाख ६० हजार लिटर पेट्रोल र नौ लाख ६८ हजार लिटर डिजेल तथा बुधबार तीन लाख ९२ हजार पेट्रोल तथा नौ लाख ९२ हजार लिटर डिजेल बिक्री भएको छ,’ भण्डारीले भने, ‘यो सामान्य अवस्थाको मागको तुलनामा पनि कम हो ।’

अहिले विराटनगर, इटहरीलगायतका क्षेत्रमा सवारी आवागमन नै घटेको उनले बताए । ‘पेट्रोल पम्पहरूले पनि बिक्रीमा गिरावट आएको बताइरहेका छन्,’ उनले भने ।

सबैभन्दा धेरै तेल बिक्री गर्ने निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा पनि माग घटेको छ । दुई नम्बर प्रदेशबाट सबैभन्दा धेरै तेल तस्करी हुने गरेको छ । पछिल्लो समय दुई नम्बर प्रदेशका ४ वटा पेट्रोल पम्पलाई तस्करी आरोपमा कारबाहीसमेत भएको छ ।

अहिले सीमा क्षेत्रमा कडाइ भएकाले तस्करी रोकिएको छ । अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार सामान्य अवस्थाको तुलनामा बुधबार तेल बिक्री घटेको छ । ‘सामान्य अवस्थामा दैनिक पेट्रोल पाँच लाख ५० हजार लिटर बिक्री हुने गरेकोमा बुधबार पाँच लाख लिटर मात्र बिक्री भएको छ । त्यस्तै २५ लाख लिटरसम्म डिजेल बिक्री हुने गरेकोमा बुधबार २० लाख लिटर मात्रै बिक्री भएको छ,’ उनले भने ।

निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको प्रमुख प्रलयंकर आचार्यले मंगलबार माग घटेको, तर बुधबार केही सुधार भएको बताए । ‘यस क्षेत्रमा दैनिक पेट्रोल तार लाख लिटरसम्म र डिजेल १२ लाख लिटरसम्म खपत हुन्छ । मंगलबार पेट्रोलको भाग घटेर दुई लाख १३ लिटर मात्र बिक्री भयो । बुधबार केही सुधार भएर चार लाख १३ लिटर पुगेको थियो,’ उनले भने । डिजेल भने सामान्य अवस्थामा झैँ बिक्री भइरहेको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशको प्रमुख सहर (भैरहवा, बुटवललगायत)मा बुधबार साँझदेखि भने पेट्रोलको माग बढेको र उपभोक्ताको लाइन देखिएको उनले बताए । ‘निषेधाज्ञा हुने डर उपभोक्तामा बढ्दै गएको देखिन्छ । त्यसैले इन्धन सञ्चय गरौँ भन्ने भावना बढेको छ । हामीले नियमित रूपमा कार्यालय खोलेर इन्धन वितरण गर्ने भएकाले उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न आग्रह गर्दछौँ,’ उनले भने ।

पोखरामा भने इन्धन मागमा खासै असर परेको छैन । निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख पुस्कर कार्कीका अनुसार सामान्य अवस्थाकै दरमा इन्धन बिक्री भइरहेको छ ।
नेपालगन्जमा भने यतिवेला निषेधाज्ञा जारी छ । जसकारण त्यहाँ न्यून परिमाणमा इन्धनको माग भइरहेको कार्यालय प्रमुख कमला न्यौपानले बताइन् । ‘यहाँबाट लामो दूरीका सवारीसाधन मात्रै चलेका छन् । छोटो दूरीका सवारीसाधन बन्द छन्,’ उनले भनिन्, ‘त्यसैले इन्धनको माग न्यून छ ।’

नेपालगन्जमा दैनिक दुई लाख लिटरसम्म पेट्रोल र पाँच लाख ५० हजार लिटरसम्म डिजेलको माग हुने गरेकामा बुधबार २० हजार लिटर पेट्रोल र एक लाख ४० हजार लिटर डिजेल बिक्री भएको उनले बताइन् । त्यस्तै, सुर्खेत प्रादेशिक कार्यालयको बिक्री परिमाणसमेत घटेको न्यौपानेले जानकारी दिइन् ।

निषेधाज्ञा अवधिभर नियमित इन्धन वितरण, अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई आग्रह
नेपाल आयल निगमले निषेधाज्ञा वा लकडाउन जे भए पनि इन्धन वितरण सुचारु राख्ने जनाएको छ । आयल निगमले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा अवधिभर इन्धन वितरणमा कुनै समस्या हुन नदिने जनाएको हो । काठमाडौं उपत्यकामा बुधबारदेखि पम्प परिसरमा लाइन बढेपछि निगमले विज्ञप्ति निकालेर थानकोट डिपो नियमित खुला रहने र उपत्यकाका पम्पले पनि नियमित इन्धन वितरण गर्ने भएकाले उपभोक्तालाई अनावश्यक इन्धन सञ्चय नगर्न आग्रह गरेको छ ।

उपत्यकासहित देशभरका निगमको डिपो नियमित रूपमा सञ्चालन हुने जनाइएको छ । देशभर इन्धन वितरण गर्ने निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवले इन्धन अत्यावश्यक क्षेत्रमा पर्ने भएकाले कारोबार सुचारु गर्न केन्द्रीय कार्यालयबाट निर्देशन भएअनुसार नियमित रूपमा बिक्री गर्ने बताए । ‘पेट्रोल पम्पलाई पनि सुरक्षा मापदण्ड अपनाएर बिक्री नियमित राख्न निर्देशन दिएका छौँ,’ उनले भने ।

देशभरका पेट्रोल पम्पहरूको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले अघिल्लो वर्षझै यस पटक पनि सबै पेट्रोलपम्प खोलेर सेवा दिने बताए । ‘सुरक्षाका मापदण्ड अपनाएर पेट्रोल पम्पहरू खुल्छन् । इन्धन नियमित रूपमा आपूर्ति गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भने । अजित अधिकारीले नयाँपत्रिकामा समाचार लेखेको छ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस