आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

ओलीसँगको वार्तापछि नेपालको प्रतिक्रिया कुराकानीमा कुनै प्रगति छैन

परदेशी खबर ९ बैशाख २०७८, बिहीबार १८:०० मा प्रकाशित ( २ साल अघि) ५७४ पाठक संख्या


काठमाडौं । फुटको संघारमा पुगेकाे एमालेमा प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीचकाे दुई दिने वार्ता निष्कर्षविहीन बनेकाे छ ।

पार्टी फुटको संघारमा पुगेपछि अध्यक्ष ओलीले आफैं माधव नेपालसँग वार्ताको लागि अग्रसरता लि‌‌एर बुधबार करिब पाँच छलफल गरेका थिए । तर, कुनै निष्कर्ष निस्केन ।

यस्तै, बिहीबार पनि मेरियट होटलमै दुई नेताबीच करिब डेढ घण्टा छलफल भयो । तर, बिहीबारको छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन ।

छलफलपछि एमाले नेता माधवकुमार नेपालले कुनै ठोस सहमति नभएको प्रतिक्रिया दिए । ‘अहिले विवाद समाधानका विषयमा कुनै ठोस सहमति र प्रगति भएको छैन । अर्को बैठक पनि बस्नेगरी छुट्टिएका छौं’ उनले भने । नेपालले बुधबारभन्दा बिहीबार कुराकानी तिक्ततापूर्ण भएकाे बताए ।

गत फागुन २३ गते सर्वोच्चको फैसालपछि नेकपा एमाले २०७५ जेठ २ कै अवस्थामा फर्कियाे । तर २८ फागुनमा माधव नेपालसहितका नेता कारवाहीमा परेपछि एमालेकाे विवाद बढ्दाे छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफूविरुद्धका नेता कार्यकर्तालाई कारबाही गर्दै हिँडेका छन् ।, उता असन्तुष्ट माधव नेपाल समूह पनि समानान्तर कमिटी गठन गर्दै आएको छ ।

ओलीले फागुन २८ मा आफू निकट केन्द्रीय सदस्यहरुको भेला राखि निर्वाचित पदाधिकारीलाई जिम्मेवारीविहीन बनाएका थिए । नेपालले सोही निर्णय सच्याउनुपर्ने अडान राखेका छन् ।

तर, ओलीले भने फागुन २८ मा कुनै नेतालाई कारबाही नगरिएको भन्दै त्यसमा फर्किन नहुने जवाफ दिएका छन् । दुवै नेताहरु आ–आफ्नै अडानमा बसेपछि आजको वार्ताबाट पनि कुनै ठोस निष्कर्ष निस्केन ।

आजको बैठकमा पार्टीभित्रको विवादबारे छलफल नै नभएको नेता नेपालले बताएका छन् । यता आजै नेता नेपाल समूहका सांसदले केपी ओलीले सांसद पद नै खाेस्न दिएको चेतावनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।