महिला राष्ट्रिय टिमको नयाँ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स चयन

फागुन १३,काठमाण्डौ। अखिल नेपाल फुटबल संघ एन्फाले अष्ट्रेलियन ग्यारी फिलिप्सलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन गरेको छ ।
एन्फाको टेक्निकल कमिटीले विहिबार रिक्त रहेको महिला टिमको मुख्य प्रशिक्षकमा ग्यारीलाई चयन गरेको हो । उनलाई एएफसी एशियन कप छनोट र महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षक बनाएको बताइएको छ ।
अष्ट्रेलियन ग्यारीले एक बर्ष एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा काम गरेका थिए । तर कोरोनाका कारण केहि महिना स्वदेशमै बसेका थिए । कोरोना कम भएपछि उनी केहि महिना अगाडी नेपाल आएका थिए ।
एन्फाले अहिलेको अवस्थामा अरु विदेशी प्रशिक्षकलाई ल्याउनु भन्दा ग्यारीको अनुभव र स्किललाई महिला खेलाडीमाझ साट्नु उचित हुने भन्दै उनलाई नयाँ जिम्मेवारी दिएको हो ।
नेपालमा भएको १३ औं सागमा फाइनलमा पराजित भएपछि नेपाली महिला फुटबल टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो । त्यो बेलाका प्रशिक्षक हरी खड्काले हारपछि पदबाट राजिनामा दिएका थिए ।
ग्यारी २०७६ साल कार्तिक १४ गते एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा आएका थिए । एक बर्ष सो पदमा रहेर काम गरेका उनलाई एन्फाले थप एक बर्ष जिम्मेवारी दिएको थियो । तर यहि विचमा कोरोनाले उनी स्वदेश फर्किएका थिए । नयाँ सम्झौता पाएपछि उनी फेरी नेपाल आएका थिए ।
ग्यारी आफैले पनि महिला टिमको प्रशिक्षकका लागि बढि रुची राखेकाले पनि एन्फाको टेक्निकल कमिटीले उनलार्ई नयाँ जिम्मेवारी दिएको हो । उनले यसअघि पीएनजीको महिला टिमको पनि प्रशिक्षण सम्हालेका थिए । यसका साथै मलेसियाको शिर्ष डिभिजन क्लवका प्राविधिक निर्देशक बनेका थिए ।
एन्फाले अप्रिलको पहिलो साता महिला टिमलाई प्रशिक्षणमा बोलाउने योजना बनाएको छ । यस्तैमा एन्फाले आफ्नो क्यालेन्डरमा चार देशसम्मिलित अन्तराष्ट्रिय प्रतियोगिता गर्नेपनि योजना बनाएको छ ।