एकैपटक झापामा ५ वटा बोर्डर आउट पोष्ट स्थापना

झापा, १० फागुन । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आइतवार एकै दिन पाँचओटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) उद्घाटन गरिएको छ ।
पाँचओटै बीओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
मेचीनगर–१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बीओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यससँगै जिल्लामा बीओपीको संख्या १७ पुगेको छ । एउटा बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताए ।
यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कुल १२ ओटा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिसकिएको छ ।
उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ ओटा बीओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ ओटा भइसकेको र बाँकी २० ओटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए । रासस