आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

परदेशी खबर ५ फाल्गुन २०७७, बुधबार ००:१४ मा प्रकाशित ( ३ साल अघि) १३० पाठक संख्या

काठमाडौं ,४ फागुन। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले भोलि सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।

भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’

उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।

तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले भोलि भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘अहिले प्रमाणसहित पक्राउ गर्न सफल भयौं । यो प्रहरीको सफलता हो ।’

भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए ।

अनलाइनखबर बाट