आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

कमरेड हामीले जित्दै गर्दा, देश र जनताले त हारेन ?

परदेशी खबर २५ पुष २०७७, शनिबार १७:५६ मा प्रकाशित ( ३ साल अघि) ३२२ पाठक संख्या

युबक राई, कुवेत

जनवरी ९ – कमरेडहरु हामीले राजनीति किन गर्ने ? र के का लागि गर्ने ? भन्ने अहिले ठूलो नैतिकताको प्रश्न हाम्रो अघि आएको छ। राजनीति भनेको धेरै व्यक्तिहरुलाई एकीकृत गरेर एउटा विचारमा वा वादमा बाधिएर , बैधानिक तवरले रास्ट्र र जनताको सेवामा लाग्ने भन्ने बुझिन्छ। राजनीति भनेको सबै नीतिहरूको मुल नीति पनि हो जसले आवश्यकताअनुसार देश र जनताको हितको निमित्त कुनै पनि नीति बनाउन वा काम नगर्ने नीति लाई हटाउन पनि सक्छ। यदि राजनीति सहि बाटोमा हिँड्यो भने सिंगापुर जस्तो कुनै पनि खानी नभएको वा स्रोत नभएको राष्ट्रलाई वा तेस्रो विश्वको राष्ट्रलाई पहिलो विश्वको रास्ट्रमा पनि पुर्याउन सक्छ । यदि राजनीति गलत बाटोमा हिँड्यो भने सबै स्रोतसाधन र खानी भएको राष्ट्र पनि पहिलो विश्व बाट तेस्रो विश्वमा जान सक्छ । देश गृहयुद्ध फसी सयौं बर्ष पछि पनि पर्न सक्छ।

जनताको लामो पटक-पटकको संघर्ष र बलिदानले कयौं तन्त्र हरुलाई बदल्दै आज एउटा जनताको छोरा , श्रमिकको छोरा राज्यको माथिल्लो कुनै पनि निकायमा जान सक्छ। चाहे त्यो राष्ट्रपती होस या प्रधानमन्त्री किन नहोस । अझ यसरी भनौं हामीले कैयौं असफल तन्त्रहरु बाट देशलाइ निकालेर संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई लिएर आयौं । र इतिहासमा पहिलो पटक कम्युनिष्टले दुईतिहाइ लगभग मत प्राप्त यहीँ समयमा गर्‍यो । एऊटै पार्टीलाई बहुमत, पाँचवर्षे स्थिर सरकार हुँदा धेरै जनताले ठूलो आश गरेको थियो । तर एकाएक बाहिय शक्तिले हैन , विपक्ष पार्टीले पनि होइन, जनताको ठूलो असन्तुष्टिले पनि होइन। आफ्नै पार्टीभित्रको आफ्नै कमरेडहरुले झण्डै दुई तिहाइ मत प्राप्त वैधानिक शक्तिलाई सहन नसकेर वा धान्न नसकेर पार्टीलाई दुई चिरामा बिभाजन गरे। त्यसपछि बिस्तारै नेपालमा कम्युनिस्ट बिश्वासको पतन सुरुवात भयो। अहिले हामी एउटै पार्टीको दुई खेमामा रहेर एकले अर्कालाई तल पार्ने काम गरिरहेका छौं । योसँगै हामीले देशको पनि समय बर्बाद गरिरहेका छौं। यस्तो विषम परिस्थितिमा corona जस्तो महामारीले विश्व असन्तुलन भइरहेको बेला हामी भने हाम्रो गुटलाई सन्तुलन बनाएर ठूलो बन्ने पहिलो प्राथमिकतामा लागी रहेका छौं ।

के हामीले देख्नुपर्दैनथ्यो , हजारौ लाखौ प्रवासी दाजुभाई तथा दिदीबहिनीहरु यस महामारीको कारणले गर्दा रोजगारी गुमाएर नेपाल आएको केही समयमै देशको अस्तव्यस्त व्यवस्था देखेर यहाँ रोगले भन्दा भोकले मरिन्छ। बरु प्रवासनै जान्छौं भनी चाडपर्वको मुखमा धमाधम जाँदै गर्दा कमरेड हामीहरु कहाँ थियौं ? देशभित्र हजारौं भोका नाङ्गा हरु यस महामारीमा छटपटाइ रहदाँ हामीकहाँ थियौं ? सरकारले यातायात व्यवसायीको सिन्डिकेट तोड्न अघि बड्दा , सरकारको तलब खाने तर सुख , सुविधा र सहर केन्द्रितमात्र हुने कर्मचारीलाई देशको कुनै पनि कुनामा सरकारले भनेको ठाउँमा जानुपर्छ भन्दै गर्दा हामी कहाँ थियौं कमरेडहरु? तेति मात्र नभएर डाक्टरको मनोमानी लगायतको रास्ट्रको ठुलो सरोकारको विषयमा सरकार अघि बढ्दै गर्दा हामी कहाँ थियौं ? त्यो अगुवाई कुन गुट वा कुन पार्टीको भन्नू भन्दा पनि उसले रास्ट्रको निमित्त सकारात्मक पहल ल्याउदा हामीले केहि बोलेनौ। अहिले हाम्रो गुट कमजोर हुने भो , भोलि चुनावमा नराम्रो नतिजाले खुम्चने डरले । अहिलेको यत्रो रनाको साच्चै रास्ट्रको हितलाई केन्द्रीय गरेको भए आज देश र रास्ट्रले केहि पाउथ्यो । हामीले वा अर्को गुटले जित र हारको दौडमा लागिरहदा , देश र जनताले त हारिरहेको छैन ? सम्भावना र समृद्धिले त हारीरहेको छैन ?

त्यसैले हाम्रा नेताहरूलाई भनौं , हामी तपाईंको यो गुटबन्दीको पक्षमा फेरि पनि उभिन्छौ तर तपाईं सङ देश र जनता , सम्भावना र समृद्धिको पक्षका लागी ठोस रणनीति के छ ? तपाईंको ध्यान कुर्सीमा भन्दा कृषिप्रधान देशको कृषकमा कति छ ? यस्ता विषयमा प्रष्ट भएर मात्र कुनैपनी गुट वा पार्टीलाई साथ दिउ नत्र देश र जनता कहिले नसिद्धिने अराजकता , अनिर्णय , असहजताको चक्रमा घुमी रहन्छ। अनि एक दिन हामीले जितौला पनि , तर देश र जनताले हारिरहेका हुने छन।