जात,धर्म र सिमा बाड्ने सबै मान्छे नै हो

१.
के जात के धर्म यो माटोले भन्दैन
को अाफ्नो,को पराई यो बाटोले भन्दैन
जात,धर्म सीमामा बाँड्ने सबै मान्छे नै हो
छुत,अछुत भोको पेटमा अाटोले भन्दैन।
२.
कति दिन्छस् ठक्कर दे जिन्दगी
दु:ख पीडा नभए त के जिन्दगी ?
कहिले तँ लडाउँछस् कहिले म तँलाई
लड्दै उठ्न सिकेको छु अरे जिन्दगी ।
३.
जन्माउँछिन् नारीले सन्तान वंश तिम्रै हुने
जन्मजातै बाउबाजेको अंश तिम्रै हुने
सदियौदेखि पिल्साएर राख्यौं नारीलाई
कस्तो अचम्म अझै पनि वंश तिम्रै हुने।
४.
समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरु
भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरु
पूरा गर्न सपना र स्वार्थका ती सिँढीहरु
अागोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरु
५.
कहिल्यै पूरा नहुने कस्तो चाहना हो यो
मान्छेले मान्छे बेच्ने कस्तो जमाना हो यो
बाँच्न त बाँचेकैछन् गल्लीमा कुकुरहरु पनि
बाँच्नकै लागि इमानदारिता बेच्ने कस्तो बहाना हो यो
गौरी गुरुङ
अध्यक्ष
तमु ( गुरुङ) साहित्यिक मञ्च नेपाल