आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

मंसिरमा १४ उपनिर्वाचन गर्ने सरकारी निर्णय

परदेशी खबर १७ श्रावण २०७६, शुक्रबार ०७:०९ मा प्रकाशित ( ४ साल अघि) ३०१ पाठक संख्या

काठमाडौं, १७ साउन । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । राजधानी दैनिकले समाचार छापेकाेछ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगको सो सुझावअनुसार नै सरकारले १४ मंसिरका लागि मिति तोकेको हो ।

बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुनअनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो ।

दलहरूसँगको परामर्शपछि आयोगको टोलीले सरकारलाई उपनिर्वाचन गर्न सकिने सम्भावित मितिबारे बिहीबार नै सुझाएको आयोग स्रोतले जानकारी दिएको हो ।

कानुनअनुसार स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्ने व्यवस्था छ । आयोगले सोही व्यवस्थाबमोजिम नै निर्वाचनबारे सरकारलाई सुझाएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले विभिन्न राजनीतिक दलसहित सरकारसँग पनि उपनिर्वाचनबारे छलफल गरेको जानकारी दिए ।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४१ गरी कुल ५० पद रिक्त छ । अब ती पदमा उपनिर्वाचन हुने निश्चित भएको हो ।

आयोगले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार उपनिर्वाचन गराउँदा ३६ जिल्लामा उपनिर्वाचन गराउनुपर्ने देखिन्छ । आयोगले उपनिर्वाचनका लागि कतिपय आवश्यक सामग्री पहिले निर्वाचनमा प्रयोग गरिएकालाई नै प्रयोग गर्न सकिनेसमेत जनाएको छ ।

यसैगरी, उपनिर्वाचन गराउन आयोगले करिब ३७ करोड रकम आवश्यक पर्ने समेत प्रारम्भिक आँकडा निकालेको आयोग स्रोतले जनाएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छ ।