आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

३३ किलो सुन तस्करी र हत्या प्रकरण: प्रहरी कार्यालयदेखि अदालतसम्मको दृश्य

परदेशी खबर ३१ बैशाख २०७५, सोमबार ०३:५५ मा प्रकाशित ( ५ साल अघि) १६६ पाठक संख्या

अदालतबाट हुने आदेशको पर्खाइमा अभियुक्तका आफन्तको बास नातागोता, होटल तथा धर्मशालामा


वैशाख ३१,विराटनगर l  सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा हाल हिरासतमा रहेका ३० प्रतिवादीलाई दिनहुँ प्रहरी कार्यालयबाट अदालतसम्म ओहोरदोहोर गराउँदासम्मको यात्रा रोमाञ्चक छ । मुद्दामा मोरङ जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा जवानदेखि डीआईजी तहसम्मका ८ प्रहरी छन् ।

विराटनगरस्थित उक्त प्रहरी कार्यालयमा बिहान खाना खुवाएपछि अदालती बहसमा उपस्थित गराउन हतकडी लगाइन्छ । अदालत परिसरमा उनीहरूको हतकडी भने खोलिन्छ । परिसरमा उपस्थित परिवारजनको अनुहार हेर्दै उनीहरू अदालतको माथिल्लो तल्ला उक्लन्छन् । कडा सुरक्षा घेराबीच उनीहरू ३ नम्बर इजलासका न्यायाधीश नारायणप्रसादशर्मासमक्ष जारी बहस सुन्छन् । इजलासको मुख्यद्वारदेखि बाहिरसम्म प्रतिवादीका आफन्तजनको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

सामान्य नागरिकझैं यो मुद्दाका अभियुक्त प्रहरी एवं उनीहरूको परिवारजनलाई थुनछेकको बहस कहिले टुंगिएर आदेश आउला भन्ने कुतूहल हुँदो रहेछ । ‘थुनछेक कहिलेसम्म सकिएला,’ अभियुक्तमध्येका निलम्बित एसपी विकासराज खनालले आइतबार अदालत परिसरमा जिज्ञासा राखे । टोखा-६, काठमाडौं बस्ने ५० वर्षीय खनाल तनहुँका स्थायी बासिन्दा हुन् ।

प्रतिवादी प्रहरीहरूका परिवार अदालतबाट हुने आदेशको पर्खाइमा स्थानीय आफन्तकोमा र नातागोता नहुने स्थानीय होटल तथा धर्मशालामा बसेका छन् । प्रतिवादी प्रहरी चालक ३७ वर्षीय विष्णुबहादुर खड्काकी पत्नी पनि धर्मशालामै बसिरहेकी छन् ।

‘यही मुद्दामा श्रीमान् पर्नुभएका केही अन्य साथीसँग मिलेर बसेकी छु,’ उनले भनिन्, ‘अदालतले धरौटी मागेमा आफूसँग भने दिनलाई ५ हजार रुपैयाँ पनि छैन ।’ श्रीमान् काठमाडौं बसे पनि जागिरले गर्दा उनी छोराछोरीसहित चितवनमा बस्दै आएको बताइन् ।

‘सुन हराएको घटना सार्वजनिक हुनेबित्तिकै दुई व्यक्ति श्रीमान्‍लाई खोज्दै घरसम्म आए पनि धम्की भने दिएनन्,’ उनले भनिन्, ‘कहाँ छन् भनेर बुझ्न आएको भन्दै उनीहरू फर्के, डर भने लागिरहन्छ ।’

लामो समयदेखि सुन तस्करीमा संलग्न भएर हाल फरार एसएसपी ५४ वर्षीय श्यामबहादुर खत्रीका उनी चालक थिए । अहिलेसम्मको अनुसन्धानमा एसएसपी खत्रीलाई गोरे भन्ने चूडामणि उप्रेतीको सबैभन्दा निकट मानिन्छ । भक्तपुरको लोकन्थली बस्दै आएका गुल्मीका खत्रीको हालसम्म प्रहरीले सुइँको पाउन सकेको छैन ।

प्रहरी नायब निरीक्षक (सइ) ३९ वर्षीय बालकृष्ण सञ्जेलका वृद्ध पिता उमाकान्त पनि बहसबारे बुझ्न सपरिवार अदालत आइपुग्छन् । सञ्जेल झापाका हुन् । छोरा परिबन्दमा परेर अदालतको कठ्घरामा उभिन पुगेको उनको दाबी छ ।

सञ्जेलका पिताले भने, ‘मुख्य अपराधी चाँडै पक्राउ परून् ।’ हिजोअस्तिसम्म अन्य अपराधीलाई हतकडी लगाएर अदालतमा उपस्थित गराउने श्रीमान्, छोरा, देवर र काकामामालगायतलाई अहिलेको स्थितिमा देखेर कोही त बोल्दाबोल्दै रुन थाल्छन् ।

अदालत परिसरमा उदास र निराश प्रतिवादीका परिवारजनले यस्तै गुनासो गरिरहेका हुन्छन् । ठूला मन्त्री र नेताका पुत्रले समेत सुन तस्करी गर्दै आएको शंका गरिएको हुनाले मुख्य अपराधीसम्म सरकार पुग्ला त भन्ने प्रतिवादीका परिवारजन एवं नागरिक समाजले प्रश्न गरिरहेका हुन्छन् ।

अदालतमा भेटिने बयानकर्ता प्रहरी र सरकारी वकिलहरू भने प्रमाण एवं साक्षीकै आधारमा उनीहरूलाई पक्राउ गरिएको वा उनीहरूले आत्मसमर्पण गरेको बताइरहेका हुन्छन् । ‘तर, प्रहरीले पक्राउ गरे लगत्तै वा हतकडी लगाउनेबित्तिकै कोही अपराधी साबित हुँदैनन्, प्रमाण बुझेर न्यायाधीशले निक्र्योल गर्ने विषय हो,’ प्रतिवादीतर्फका वकिल खगेन्द्रबहादुर श्रेष्ठले भने ।

यो सर्वाधिक चर्चित मुद्दाको बहस सुन्न आउने नागरिक समाजको संख्या भने दिनहुँ बढ्दो छ । उनीहरू पनि यति ठूलो तस्करी डीआईजी स्तरसम्म मात्र सीमित हुुनु नपर्ने जिज्ञासा राखिरहेका हुन्छन् । ‘ठूला नेता, मन्त्री वा राजनीतिक संरक्षणबिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा थल मार्गबाट यो तस्करी सम्भव छैन,’ शिक्षित गृहिणी जानुका बरालले भनिन्lजितेन्द्र साहl कान्तिपुर अनलाइनबाट साभार