आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

नेपाली क्रिकेटले दिएको खुसीलाई कायम राख्छु: जगत विश्वकर्मा, खेलकुद मन्त्री

परदेशी खबर ६ चैत्र २०७४, मंगलवार २०:४४ मा प्रकाशित ( ६ साल अघि) ७०४ पाठक संख्या

मन्त्रीमण्डल विस्तार भएसँगै सरकारले पूर्णता पाएको छ । केही नयाँ र केही पुराना अनुहार मन्त्रीमण्डलमा सहभागि गराइएको छ । युवा तथा खेलकूद मन्त्रीको रुपमा पहिलो पटक जगतबहादुर विश्वकर्मा सरकारमा सहभागि भएका छन् । प्रस्तुत छ नेपालको खेलकूद र समग्र युवा वर्गसँग सम्बन्धित रहेर मन्त्री विश्वकर्मासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संक्षिप्त संपादित अंश:

नेपालको खेलकूद क्षेत्रको विकासका लागि कस्ता योजना बनाउँदै हुनुहुन्छ ?

राष्ट्रको पहिचान, गरिमा र सम्मान अभिवृद्धिका लागि खेलकूद क्षेत्रको विकास गर्नु जरुरी छ । नेपाली क्रिकेटमा नेपालले भर्खरै एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यसले नेपाल र नेपालीलाई खुशी दिएको छ । यो खुशीलाई कायम राख्दै खेलकूदको विकासका लागि म प्रतिबद्ध छु । खेलकूद र युवा जनशक्तिलाई राष्ट्र निर्माणको महाअभियानमा लैजानु जरुरी छ । यो लक्ष्य हासिल गर्नका लागि म योजना बनाउँदै छु ।

क्रिकेटमा नेपालले सफलता हात पारेको कुरा गर्नुभयो । तर नेपाल क्रिकेट एसोसियसनमा विवाद छ । कसरी सुल्झाउनुहुन्छ ?

यस विषयमा अध्ययन गरिरहेको छु । प्रारम्भिक रुपमा बुझिरहेको छ । समस्याको जड पत्ता लगाएर समग्र खेलकूद क्षेत्रको विकासका लागि कार्ययोजना बनाउँछु । विगतमा भएका गल्तीबाट शिक्षा लिएर खेलकूद क्षेत्रमा भएका समस्यालाई समाधान गर्नका लागि म नेतृत्वदायी भूमिका खेल्छु । खेलकूद क्षेत्रलाई मर्यादित रुपमा अगाडि बढाएर नेपाली जनतालाई नै खुशी बनाउनेछु ।

खेलमार्फत विश्वमा नेपाललाई चिनाउन खेलाडिहरु सफल भएका छन् । उनीहरुको मूल्याङ्कन कसरी हुन्छ ?

वीर गोर्खालीको रुपमा नेपालीहरुको इज्जत र प्रतिष्ठा बढाउन खेलाडिहरुले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । यसलाई अझै माथि उठाउने हिसाबले खेलाडि र खेलकूद क्षेत्रको विकासका लागि दीर्घकालिन योजना र कार्यक्रम तय गरेर अगाढि बढ्नेछु ।

नेपाली युवाहरुका लागि के गर्ने योजना छ ?

सुखी नेपाली समृद्ध नेपाल बनाउने महाअभियानमा छौँ । स्वभाविक रुपमा यो लक्ष्य पूरा गर्नका लागि सिङ्गो राष्ट्रको युवा जनशक्ति परिचालन गर्ने योजना छिटै ल्याउँछौँ । युवाहरुको सामर्थ्य प्रयोग नगरी देश विकास हुँदैन ।

दैनिक नेपालबाट