आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने

परदेशी खबर २५ फाल्गुन २०७४, शुक्रबार १९:५७ मा प्रकाशित ( ६ साल अघि) ३५१ पाठक संख्या

 

 

मार्च ९,केही महीनाअघिसम्म एकअर्काको देशमा आक्रमणको धम्की दिइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले भेट वार्ता गर्ने भएका छन् ।

प्राप्त समाचार अनुसार किम जोंग उनले ट्रम्पलाई भेटवार्ताको निम्तो दिएका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उक्त निम्तो स्वीकार गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुंग–योंगले आगामी मे महीनामा ट्रम्प र किम जोंग–उनबीच भेटवार्ता हुने बताएका छन् । किमले यसअवधिमा परमाणु बम र मिसाइल परीक्षण नगर्ने आश्वासन दिएको पनि चुंगले बताए । ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका चुंगले सञ्चारकर्मीहरुलाई यस्तो बताएका हुन् ।

यसै साता दक्षिण कोरियाली प्रतिनिधिमंडलसँग उत्तर कोरियाका नेता किमसँग भएको भेटवार्ता भएलगत्तै चुंगको यस्तो प्रतिक्रिया आएको हो ।
“भेटका बेला किम जोंग–उनले परमाणु निरस्त्रीकरणका लागि प्रतिवद्धता देखाएको हामीले राष्ट्रपति ट्रम्पलाई जानकारी गरायौं । जवाबमा उहाँले पनि आगामी मे महीनासम्म किमलाई भेटेर स्थाई परमाणु निरस्त्रीकरण गर्न चाहेको बताउनु भएको छ,” चुंगलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले पनि ट्वीट मार्फत अमेरिका र उत्तर कोरियाको पहिलो शिखर सम्मेलनका लागि योजना बनाइरहेको र आफूले किम जोंग उनलाई भेट्न सक्ने उल्लेख गरेका छन् । उनले उक्त भेटपछि कुनै सहमति बन्नु अघिसम्म उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध भने जारी नै रहने बताएका छन् ।

मानवअधिकार उल्लंघनको गम्भीर आरोपका कारण दशकौंदेखि उत्तर कोरिया अन्तर्राष्ट्रिय रुपमा एक्लिएको छ । उसको परमाणु कार्यक्रमले गर्दा संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाएको छ ।

अहिलेसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता नगरेको सन्दर्भमा पनि ट्रम्प र किमबीच हुने भनिएको भेटलाई निकै महत्वका साथै हेरिएको छ ।

यो भेटवार्ताको घोषणालाई कतिपयले प्रोपोगांडाको रुपमा पनि हेरेका छन् ।
-एजेन्सी