आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारको निर्णयसँगै एयरलाइन्सहरूको आन्तरिक तयारी तीव्र

परदेशी खबर ८ श्रावण २०७७, बिहीबार ०९:४१ मा प्रकाशित ( ३ साल अघि) १७६ पाठक संख्या

सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । 

लकडाउनअघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरूले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरूले आफ्नो तयारी गरिरहेका हुन् । यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यात्रुहरूलाई ढुक्क भएर यात्रा गर्न आग्रह  गरे ।  

सम्पूर्ण सुरक्षाका उपाय आफूहरूले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उनले  आग्रह गरे । उनले भने, ‘प्यासेन्जर ढुक्क भए हुन्छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन ।’

कोभिडअगाडिको अवस्थाभन्दा अहिले एक घन्टाअगाडि नै यात्रुहरूलाई बोलाइएको छ । सुरक्षा जाँचदेखि लिएर सम्पूर्ण प्रोटोकल पूरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा एक घन्टाअगाडि नै यात्रुहरूलाई बोलाइएको हो । यात्रुहरूले कोभिडअगाडिकै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताए ।  

यती एयरलाइन्सले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए ।  विमानमा यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा एक सय दशमलव ४ डिग्रीभन्दा बढी तापक्रम भएमा यात्रा प्रतिबन्ध लगाइने गरी यसअघि नै प्राटोकल बनिसकेको छ । 

कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ । यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरू निषेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यो खबर नयाँ पत्रिकाले प्रकाशित गरेका छन ।