आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सरकारी अस्पतालमा अब कोरोनाको परीक्षण र उपचार निःशुल्क

परदेशी खबर २४ कार्तिक २०७७, सोमबार १९:०० मा प्रकाशित ( ३ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं ,२४ कात्तिक / यसअघि सरकारी अस्पतालमा पनि कोरोनाभाइरस परीक्षणको र उपचारको शुल्क लिने निर्णय गरेको सरकारले आफ्नो निर्णय सच्चाउने भएको छ । अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क बनाइने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा अब कोरोनाको नाममा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोना परीक्षण निःशुल्क हुने छ । तर, आज बसेको मन्त्रिपरिषद् बैठकमा नीजि ल्याब र अस्पतालबारे केही छलफल भएको छैन ।

सरकारले यसअघि विपन्न भनेर प्रमाणित गर्नेलाई मात्र उपचार खर्च नलिने निर्णय गरेको थियो ।

सरकारको यो निर्णय आएसँगै टेकु अस्पतालमा पनि कोरोना संक्रमितले उपचारका लागि धरौटी राख्नु पर्ने व्यवस्था गरिएको थियो । तर, व्यापक आलोचनापछि यो सच्याइएको थियो ।

त्यस्तै, १५ असोजमा सर्वोच्च अदालतले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सरकारले यसका लागि पुनरावेदनको निवेदन दिएको थियो । तर, यो सरकारी निवेदन खारेज भएको थियो । यो निवेदन खारेज भएकाले पनि सरकारले आफ्नो निर्णय सच्याउन बाध्य भएको हो ।