आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

पार्टीभित्र समीकरण बदल्ने ओलीको कोसिस जारी, एक सातामा माधवसँग दुईपटक संवाद

परदेशी खबर १४ कार्तिक २०७७, शुक्रबार ०७:३२ मा प्रकाशित ( ३ साल अघि) ३५४ पाठक संख्या

काठमाडौं, १४ कात्तिक । पार्टीभित्रको ‘अन्तहीन’ विवादबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले एक साताभित्रै दुईपटक वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर ‘सहकार्य’को प्रस्ताव गरेका छन् । तर, विगतमा जस्तै नेता नेपालले विधि र पद्धतिकै मुद्दामा जोड दिएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अविश्वास र दूरी बढिरहेका वेला प्रधानमन्त्री ओलीले नेकपाभित्र अंकगणितमा निर्णायक भूमिकामा रहेको समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता नेपालसँग सहकार्यको कोसिस अगाडि बढाएका हुन् ।

प्रचण्डसँग १० दिनदेखि संवाद ठप्प रहेकै अवस्थामा प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएर नेता नेपालसँग एक हप्ताकै बीचमा दोस्रोपटक लामो भेटवार्ता गरेका छन् । स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर ओली र प्रचण्डबीच मनमुटाव देखिएको छ ।

पछिल्लोपटक प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच मंगलबार (११ कात्तिक) मा साढे दुई घन्टा लामो भेटवार्ता भएको थियो । ओली र नेपालबीच गत मंगलबार दिउँसो १२ बजेपछि बालुवाटारमै संवाद भएको थियो । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग विवादित भेट गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक पार्टीका वरिष्ठ नेता नेपालसँग लामो संवाद गरेका हुन् ।

त्यसअगाडि ओलीले ‘रअ’ प्रमुखको नेपाल भ्रमणको अघिल्लो दिन ४ कात्तिकमा नेता नेपालसँग भेट गरेका थिए । कूटनीतिक र राजनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग भेट गरेकोमा नेकपाभित्रै आलोचना छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जानकारीविनै ‘रअ’ प्रमुखको नेपाल भ्रमण भएको र प्रधानमन्त्री ओलीसँग भेट भएको बताइसकेका छन् ।

लामो समयदेखि ‘लभ एन्ड हेट’ अर्थात् सहकार्य र अन्तरविरोधका सम्बन्धमा रहेका ओली–नेपालबीचको पछिल्लो भेट राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । तर, पछिल्ला दुवै भेटमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्नका लागि सहकार्यका लागि आग्रह गरे पनि कुनै मूर्त औपचारिक ठोस प्रस्ताव भने नगरेको नेपालनिकट स्रोतले जनाएको छ ।

‘लामै कुराकानी भए पनि प्रधानमन्त्रीका तर्फबाट कुनै औपचारिक ठोस प्रस्ताव आएको छैन,’ नेपालनिकट स्थायी कमिटीका एक सदस्यले पछिल्लो भेटवार्ता उद्धृत गर्दै भने, ‘विगतमा जस्तै लामो कथा हालेर अहिलेको मुलुकको अवस्था, सरकार र पार्टी सञ्चालनमा सहयोग गर्नुप¥यो, अब नेकपालाई तपाईंले नै नेतृत्व गर्ने हो भन्नेबाहेक कमीकमजोरी महसुस गर्दै सच्चिएर अघि बढ्ने र पार्टीलाई एकताबद्ध बनाउने कुनै ठोस प्रस्ताव आएको छैन । त्यसैले पछिल्लो भेटघाट र कुराकानी पनि अघिल्लो भेटकै निरन्तरता मात्रै हो भन्दा फरक पर्दैन ।’

ओलीनिकट मानिने नेता एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ओली–नेपालबीचको पछिल्लो भेटवार्तालाई कुनै विशेष अर्थका रूपमा नभई सामान्य रूपमा मात्र बुझ्नुपर्ने बताए । ‘उहाँहरूबीच सामान्य भेटघाट भयो, त्यस्तो खास विषयमा छलफल गर्ने उद्देश्यले कुराकानी भएको होइन,’ नेम्वाङले नयाँ पत्रिकासँग भने । उनले शीर्ष तहका नेताहरूबीचको भेटघाट आवश्यकताअनुसार आपसी परामर्शका लागि हुने भएकाले दुई अध्यक्षलाई अरू नेताहरूसँगको छलफलको जानकारी हुने गरेको दाबीसमेत गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले ‘युद्धविराम’को तहमा पुगेको नेकपाभित्रको विवाद बल्झिने संकेत देखिएका वेला प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच तीन महिनापछि ४ कात्तिकमा छलफल भएको थियो । कर्णाली प्रदेशको समस्या समाधानबारे ओली र प्रचण्डले बेग्ला–बेग्लै सर्कुलर जारी गरेपछि त्यहाँको विवाद थप जटिल बनेको र प्रचण्ड–नेपाल समूहबीच बढ्दो सहकार्य समीकरणकै रूपमा कार्यान्वयन हुने सम्भावना बढिरहेकै बीचमा कतिपयले नेपाललाई बालुवाटार बोलाएर सहकार्यका लागि फकाउने कोसिस गरिएको नेकपा वृत्तमा अथ्र्याउने पनि गरेका छन् ।

सुरुमा नेपाल समूहका सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे पनि प्रचण्डसँगको छलफलपछि उनीहरूले फिर्ता लिएका थिए । नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्रीको कुर्सी जोगिएको मात्र छैन, प्रचण्ड–नेपाल समूहको पछिल्लो समझदारी कार्यान्वयनको चरणमा छ । प्रचण्ड समूहले कर्णालीमा एक उपसभामुख र दुई मन्त्री नेपाल समूहलाई दिने सहमति गरेको थियो ।

तर, यसबीचमै पर्साको विन्दवासिनीमा ६ कात्तिकमा भएको झडपमा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएपछि अपराधीलाई कारबाहीको पक्षमा प्रचण्ड–नेपाल समूह एक ठाउँमा उभिएको छ । यी घटनाक्रमले प्रचण्ड–नेपाल समूहको पछिल्लो सहकार्य प्रदेश र जिल्ला हुँदै केन्द्रमा समेत समीकरणमा परिणत हुन सक्ने सम्भवनालाई समेत मध्यनजर गर्दै ओलीले नेपालसँग सहकार्यको कोसिस गरेको हुन सक्ने नेकपाकै केही नेताहरूको बुझाइ छ ।

नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले शीर्ष तहको भेटघाट र संवादले पार्टीभित्रका समस्या समाधान गरेर एकताबद्ध बनाउन भूमिका खेल्ने भएकाले त्यसलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताए । ‘नेताहरूबीच जति धेरै संवाद भयो, त्यसले पार्टीभित्र देखापर्ने अन्तरविरोध समाधान गर्न, पार्टीलाई एकताबद्ध बनाउन र समस्या समाधानमा सहयोग पुग्छ ।

संवादहीनताले पार्टीको समस्या अझ गहिरिन्छ,’ विष्टले भने, ‘संवादले दूरी कम गर्ने र समस्या समाधानको वातावरण बनाउँछ । पार्टीमा संवादहीनताको अवस्था रहनुहुँदैन । मुख्य कुरा पार्टीलाई विचार, नीति, सिद्धान्त र विधिका आधारमा सञ्चालन गर्ने हो । यसले नै पार्टी एकता बलियो बनाउँछ ।’

पार्टीभित्र विवाद उत्कर्षमा पुगेर कार्यकारी अध्यक्ष प्रचण्डसँग दूरी बढेका वेला ओलीले नेपाललाई बालुवाटारमै बोलाएर छलफल गर्ने गरेको विगत छ । यसअघि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेका वेला गत ९ साउनको राति पनि नेपाललाई बालुवाटार बोलाएर ओलीले लामो छलफल गरेका थिए । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामाको माग चर्किएसँगै अध्यक्ष प्रचण्डसँगको शक्तिसंघर्ष जटिल मोडतर्फ उन्मुख भएपछि प्रधानमन्त्री ओलीले नेपालसँग ‘गोप्य’ भेटवार्ता गरेर भावी अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई महाधिवेशन आयोजक कमिटीको संयोजकसमेत बनाएर जान सकिने विषयमा सोच्न सकिनेसम्मको प्रस्ताव गरेको स्रोतहरूको दाबी थियो । तर, ‘गोप्य’ भनेर बोलाएर राति अबेरसम्म भएको त्यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले नै अर्का अध्यक्ष प्रचण्डसँग अविश्वास सिर्जना हुने गरी अनावश्यक ढंगले प्रचार गराएको भन्दै नेपाल असन्तुष्ट बनेका थिए ।

प्रचण्डसँगको जानकारीमै भेटघाट भएको भन्दै त्यतिवेला नेपालले समाचारबारे थप प्रस्टीकरण नै दिएका थिए । उक्त भेटबारे ओलीनिकट नेता नेम्वाङ भन्छन्, ‘अध्यक्ष साथमै रहेका वेला प्रधानमन्त्रीले सल्लाहमै माधव कमरेडलाई टेलिफोन गरेर भेटघाट र कुराकानीका लागि बालुवाटार बोलाउनुभएको थियो । उहाँले आफ्नै शैलीमा पृष्ठभूमि बाँधेर भेटघाट नभएको धेरै भयो, कुराकानी गरौँ, ल आउनुस् भनेर प्रचण्ड कमरेडकै अगाडि बोलाउनुभएको थियो । तर, बाहिर के–के न भएजसरी अर्कै खालले बुझ्न खोजियो, तर त्यस्तो केही पनि थिएन ।’

४ कात्तिकको भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्मका अविश्वास हट्ने गरी मिलेर अघि बढ्ने गरी सम्बन्ध सुधारको प्रस्ताव गर्दै सरकारलाई सहयोग गर्न नेपाललाई आग्रह गरेका थिए । नेपालले भने पार्टी र सरकारलाई संस्थागत निर्णयको स्पिरिटका आधारमा सञ्चालन गर्नेबित्तिकै स्वःस्फुर्त विश्वासको वातावरण बन्ने जवाफ फर्काएका थिए ।

‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईंले पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ,’ ओलीको भनाइ थियो, ‘छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ ।’ ओलीको यस्तो भनाइपछि नेपालले नबोलाइएको अवस्थामा विनाकाम हिँड्ने आफ्नो स्वभावै नभएकाले पार्टीको प्रतिष्ठा बढ्ने गरी आमनेता–कार्यकर्ता र जनता सन्तुष्ट हुने गरी सरकारले काम गर्न सकोस् भन्ने मात्र आफ्नो चाहना रहेको बताएका थिए ।

‘म नबोलाईकन हिँड्ने मान्छे होइन, विनाकाम धाउने मेरो बानी छैन । त्यसैले नबोलाईकनै तपाईंकहाँ पाहुना हुने कुरा भएन । जनता खुसी हुन्, देश राम्ररी अगाडि बढोस्, सरकारले राम्रो काम गरोस्, पार्टीको प्रतिष्ठा बढोस् भन्ने मात्र मेरो चाहना हो,’ ओलीसँगको भेटमा नेपालको जवाफ उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भनेका थिए, ‘साँच्चै सम्बन्ध सुधारभन्दा पनि खाली कसरी फकाउन सकिन्छ भन्ने कोणबाट मात्र प्रधानमन्त्रीले उहाँसँग अनेक प्रसंगका कुरा गर्नुभएछ ।’

पार्टी र सरकारको नेतृत्वमा आफूलाई सहयोग गर्न ओलीले गरेको प्रस्तावमा नेपालले प्रतिवाद गर्दै समस्यामाथि समस्या खडा गर्ने कार्यशैली तत्काल सच्याइएको अवस्थामा मात्र आफ्नो साथ रहने जवाफ फर्काएका थिए । ‘तपाईंले जथाभावी राजनीतिक र अन्य नियुक्ति गर्नुहुन्छ, अनि मेरो विश्वास जित्ने कुरा गर्नुहुन्छ ? पार्टीभित्र मापदण्ड लागू गर्नुहुन्न, वरिष्ठता, योग्यता र क्षमताको अवमूल्यन गर्दै अन्याय गर्नुहुन्छ अनि मैलेचाहिँ सहयोग र समर्थन गर्ने कुरा हुन्छ ? सबै समस्याको जड तपाईं नै हो, धेरै समस्या तपाईंबाटै खडा भएको छ, त्यसैले पहिले आफ्नो कार्यशैली सच्याउनुस्, अनि मेरो सदैव साथ र सहयोग रहन्छ,’ प्रतिवादसहितको नेपालको जवाफ उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले भने ।

निर्णायक पोजिसनमा नेपाल

नेकपाभित्र मूलतः अध्यक्ष ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालको तीन समूह छ । पूर्वमाओवादीभित्रको प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को बेग्लै समूह रहे पनि नेकपाभित्र नेपाल समूह सबैजसो निर्णयमा प्रभाव राख्ने पोजिसनमा छ । नेपाल समूह प्रचण्ड पक्षसँग मिल्दा गत ११ साउनमा बालुवाटारमा स्थायी कमिटीको बहुमत सदस्यको बैठक भएको थियो भने कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबाट नेपाल समूह फिर्ता भएपछि उनको कुर्सी जोगिएको छ ।

केन्द्रीय कमिटीमा नेपाल समूहको एक सय १५ सदस्य छन् भने स्थायी कमिटीमा १२ नेता छन् । त्यस्तै, संघको प्रतिनिधिसभाको संसदीय दलमा वरिष्ठ नेता नेपाल र झलनाथ खनालनिकट करिब ४५ सांसद छन् ।

सातमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार रहेकोमा बागमती, प्रदेश १ र कर्णाली प्रदेशमा ओली समूहकै हाराहारीमा नेपालनिकट प्रदेश सांसद छन् । केन्द्र र प्रदेशमा नेपाल समूहले दायाँबायाँ गरेको अवस्थामा सरकारको नेतृत्व नै परिवर्तन गर्ने सामर्थ्य राख्छ ।

पछिल्लोपटक कार्यकारी अध्यक्ष प्रचण्डसँग नेपालको सहकार्य अगाडि बढ्न थालेपछि प्रधानमन्त्री ओलीले उनलाई समदूरीमा राखेर नयाँ शिराबाट सहकार्य गर्ने कोसिस अगाडि बढाएका छन् । नेपालले पार्टी कमिटीमा आफ्ना मुद्दा संस्थागत रूपमा राख्दै आएका छन् ।

नेपालले ५ असोज ०७५ मा प्रदेश इन्चार्ज छनोट, ३ भदौ ०७६ मा वरीयता निर्धारणको मापदण्ड र विभाग तथा जनवर्गीय संगठनको नेतृत्व चयन तथा १८ कात्तिकमा भएको प्रदेश प्रमुख नियुक्तिमा पार्टीमा तीनपटक फरक मत राखेका थिए । त्यस्तै, २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकमा फरक मत नै संकेत गर्ने गरी छुट्टै लिखित सुझाब राखेका थिए, आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले समाचार लेखेका छन् ।