विषादी परीक्षणबिनै भारतबाट भित्रिन्छ तरकारी र फलफूल

 

साउन २०,काठमाडाैं / नेपाल भित्रिनुअघि विषादी भए/नभएको जाँच गर्ने संयन्त्रलाई छल्दै भारतीय तरकारी तथा फलफूल निर्बाध आयात हुने गरेका छन् । भारतीय ढुवानीकर्ताहरूले नेपाली भन्सारमा सामान आइपुग्नुअघि नै त्यसको विषादी जाँचपास गरेको प्रमाणपत्र बनाएर त्यसैका आधारमा नाकाबाट छुटाउने गरेको कान्तिपुरको खोजका क्रममा फेला परेको हो ।

उदाहरणका लागि शनिबार बिहान १० बजे कृष्णनगर नाकाबाट तरकारी र फलफूल बोकेका यूपी ४१ एटी २५०८, यूपी ४१ एटी ७९४३, बीआर ०६ जीडी ८६७१ र यूपी ३२ एमएन ३०५६ लगायतका भारतीय नम्बर प्लेटका गाडी भित्रिए ।

भन्सार परिसरमा छिरेको केही समयमै ती गाडी जाँचपास पूरा गरी बाहिरिएका थिए । भन्सारदेखि केही किलोमिटर अगाडि कृष्णनगर–चन्द्रौटा सडक खण्डमा भेटिएका ती गाडीका चालकले आफूले ढुवानी गरेको तरकारी र फलफूलको अघिल्लो दिन शुक्रबार नै बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाबाट जारी गरिएको स्वस्थकर प्रमाणपत्र र कृष्णनगर क्वारेन्टाइनले अनुमति दिएको स्वस्थता प्रमाणपत्रको सिफारिस देखाए ।

‘यस्तो त नहुनुपर्ने हो,’ ती गाडीबारे कान्तिपुरले जिज्ञासा राखेपछि भन्सार प्रमुख विष्णुप्रसाद पौडेलले भने, ‘विषादी परीक्षणको रिपोर्ट आउन कम्तीमा पाँच–छ घण्टा त लाग्छ नै ।’ भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा मात्र यस्तो काम सम्भव हुने बताउँदै उनले यसबारे बुझ्ने प्रतिक्रिया दिए ।

भारतबाट तरकारी र फलफूल आयात गर्दा अर्ग्यानो फस्फेट र कार्बोनेट नामक विषादी परीक्षण र प्लान्ट क्वारेन्टाइनको सिफारिस अनिवार्य छ । तर, यस्ता फर्जी कागजातका भरमा तरकारीहरू छुटिरहेकाले नेपाली उपभोक्ताले विषादीयुक्त सामग्री उपभोग गरिरहेको सहज अनुमान गर्न सकिन्छ । विषादी परीक्षण रिपोर्टमा आयातित कृषि उपज खानलायक देखिएमा र क्वारेन्टाइनले भित्र्याउन सिफारिस दिएमा मात्र भन्सारले आयात अनुमति दिने गर्छ । कृष्णनगर भन्सारबाट भित्रिने कृषि उपजमा यस्ता सिफारिसहरू पेस त हुन्छन् तर सबै फर्जी ।

यो सबै व्यापारी र भन्सार कर्मचारीको मिलेमतोबिना सम्भव हुँदैन । आयातकर्तालाई सहज र अनुकूल हुने वातावरण भन्सार कार्यालयले नै बनाइदिने गरेको प्रमाणसमेत फेला परेको छ । विषादी जाँच्न भनेर नाकामै प्लान्ट क्वारेन्टाइन राखिएको छ । तर, त्यहाँ भारतबाट आउने कुनै तरकारीको विषादी परीक्षण भने हुँदैन, जबकि चालकहरू कागजात भने परीक्षण गरिएको बोकेर हिँड्छन् । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईको भूमिकासमेत यस मामिलामा शंकास्पद देखिएको छ ।

प्लान्ट क्वारेन्टाइन र विषादी अवशेष प्रयोगशाला शनिबार बन्द हुने भएकाले मुलुकका अन्य भन्सार नाकाबाट तरकारी र फलफूलको आयात हुँदैन । तर कृष्णनगरबाट अन्य दिनसरह भित्रिने गरेको देखियो ।

यसका लागि व्यापारीले विषादी परीक्षण र नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयबाट एक दिन पहिल्यै परीक्षण गरेको कागजात तयार पार्ने गरेको पाइएको छ । भारतीय तरकारी र फलफूल नेपाल आइनपुग्दै आयातकर्ताले ती कार्यालयबाट आयातित खाद्यान्नले नेपालको बालीनालीलाई असर नपार्ने भाखाको सिफारिस पत्र हात पारिसक्छन् । त्यसैको आधारमा भन्सारले जाँचपास दिने गरेको अभिलेखमा देखिन्छ ।

स्थानीय व्यवसायीका अनुसार तरकारी र फलफूलको गाडी भारतीय क्षेत्रमा रहेका बेला भन्सार कर्मचारीले ती गाडीबाट नमुना संकलन गरेर सिलबन्दी गरी विषादी जाँच्न प्रयोगशालालाई पत्र लेख्ने गर्छन् । गाडी भन्सार नाकामा आउने बेलासम्म व्यापारीले विषादी जाँचको रिपोर्ट र क्वारेन्टाइनको पत्र तयार बनाइसकेका हुन्छन् । जबकि, यस्तो परीक्षण सम्बन्धित गाडी भन्सार प्रवेश गरेपछि मात्रै हुनुपर्ने नियम छ ।

फर्जी कागजात बनाइयो: प्रयोगशाला
बुटवलस्थित प्रयोगशालामा शनिबार कृष्णनगरबाट भन्सार पास भएर आएका ती भारतीय गाडीलाई विषादी जाँचको रिपोर्ट उपलब्ध गराएको कुनै प्रमाण छैन । ‘गाडीवालाले देखाएका विषादी जाँचको रिपोर्ट यस कार्यालयबाट उपलब्ध गराएको हाम्रो जानकारीमा छैन,’ प्रयोगशालाका प्रमुख बाली संरक्षण अधिकृत उमाशंकर पाठकले भने, ‘ती गाडीका तरकारी र फलफूलको विषादी परीक्षण गर्न कृष्णनगर भन्सारबाट हामीलाई शुक्रबार पत्र आएको छैन । शनिबार प्रयोगशाला बन्द रहन्छ ।’

प्रयोगशालाले परीक्षण गरेर उपलब्ध गराएको स्वास्थ्य प्रमाणपत्रको फाइलको रेकर्ड प्रयोगशालामा पनि रहने जनाउँदै पाठकले प्रयोगशालाको लेटर प्याड, छाप, हस्ताक्षर सबै किर्ते गरी तयार पारेको दाबी गरे । यूपी ४१ एटी २५०८ र यूपी ३२ एफएन ५६८६ नम्बरको गाडीले शुक्रबार देखाएको कागजमा प्रयोगशालामा दर्ता नम्बर ८८७ देखिएको तर त्यो दिन दर्ता नम्बर ८५१ मात्रै रहेको दाबी पाठकले गरे । यो विषय गम्भीर भएकाले छानबिन गरिनुपर्ने र छानबिनमा आफूले पूर्णरूपमा सहयोग गर्ने उनले बताए ।

प्रयोगशालाका अनुसार पछिल्ला दिनमा कृष्णनगर नाकाबाट फलफूल र तरकारीको विषादी जाँचका लागि नमुना परीक्षण धेरै आउन थालेको छ । पहिला दैनिक २/३ वटा मात्रै गाडी आउने गरेकामा अहिले २० वटा गाडीभन्दा धेरै आउन थालेका छन् । स्रोतका अनुसार प्रयोगशालाले व्यापारीसँग मिलेमतोमा दर्ता चलानी नगरी नक्कली स्वस्थकर प्रमाणपत्र जारी गर्ने गरेको छ । यसको प्रयोग गरी शनिबार पनि भारतीय गाडीको भन्सार पास हुने गरेको हो ।

प्रयोगशालाले पछिल्ला दिनमा भन्सारबाट परीक्षण गर्न पठाइएका सिलबन्दीबिनाका नमुनाको परीक्षण रिपोर्ट दिने गरेको छ । यस्ता नमुना ल्याएर व्यापारीले वास्तविकभन्दा बाहिर वा अन्यत्र (विषादी नभएको) को तरकारी तथा फलफूल परीक्षण गराई गाडीको भन्सार पास गराउन सक्छन् ।

आइतबार कृष्णनगर भन्सारले विषादी जाँचका लाागि स्याउका तीनवटा नमुना प्लास्टिकमा पोको पारेर प्रयोगशालामा पठाएको थियो । त्यसमा सिलबन्दी थिएन । प्रयोगशालाका कर्मचारी भैरहवा र अन्य भन्सार कार्यालयबाट परीक्षणको नमुना पठाउँदा सिल गरेर लाहाछापसहित पठाउने गरेको बताउँछन् । सिलबन्दीबिना पठाइएको नमुना परीक्षणका लागि किन स्वीकार गरेको भन्ने प्रश्नको जवाफमा प्रयोगशालाका प्रमुख पाठकले सिलबन्दी हुनैपर्ने भन्ने स्पष्ट निर्देशिका नरहेको बताए । सिलबन्दीबिनाको नमुना वास्तविक हुन नसक्नेचाहिँ उनले स्विकारे ।

हामीलाई झुक्याउँछन् : प्लान्ट क्वारेन्टाइन
फर्जी कागजात बनाएर भन्सार पास भएका उल्लेखित गाडी उदाहरण मात्र हुन् । आलु बोकेका यूपी ७६ के ९२२४, यूपी ४३ एटी ०५७५, यूपी ७६ के ८६७०, स्याउ बोकेको यूपी ३५ टी ४४६७, अनार बोकेको यूपी ७८ डीटी ६३६८, आँप बोकेको यूपी ४२ एटी १०१३ र केरा बोकेको यूपी ३२ एमएन २९८४ नम्बर प्लेटका भारतीय गाडी कृष्णनगर नाकाबाट शनिबार भन्सार पास भएका थिए ।

शनिबारै नेपाल आएर भन्सार पास भएका तरकारी तथा फलफूल बोकेका गाडीको कृष्णनगर क्वारेन्टाइन कार्यालयको प्रमाणपत्र पनि एक दिन पहिला जारी गरिएको छ । शनिबार कार्यालय बन्द हुन्छ । तर त्यस दिन भन्सार पास भएका सबै गाडीले शुक्रबारको प्रमाणपत्र आफूसँग राखेका थिए । क्वारेन्टाइन कार्यालयका प्रमुख बाली संरक्षण अधिकृत सहषराम चौधरीले आफूहरूलाई झुक्याएर शनिबार तरकारी र फलफूलका गाडी भन्सार पास गरिएको बताए । ‘हामीलाई एजेन्ट, भन्सार कर्मचारी र व्यवसायीले झुक्याए,’ चौधरीले भने, ‘भन्सार परिसरमा गाडी आएको भनेर नमुना देखाए ।’ उनले त्यस्तो दाबी गरे पनि नियमअनुसार क्वारेन्टाइनका कर्मचारीले गाडीबाटै नमुना संकलन गरी जाँचेर मात्र छोडपुर्जी दिनुपर्ने प्रावधान छ ।

उनले क्वारेन्टाइन नगरी गाडी भन्सार पास गराउने प्रवृत्ति कृष्णनगर नाकाबाट हुँदै आएको दाबी गरे । ‘गाडी भन्सार परिसरमा आएपछि हामीले नमुना जाँच गरेर स्वीकृत दिएपछि मात्रै भन्सार पास हुनुपर्ने हो,’ उनले भने, ‘तर कृष्णनगरमा त्यसो गरिएको छैन ।’ क्वारेन्टाइनलार्ई थाहै नदिई कैयौं गाडी भन्सार पास हुने गरेको आरोप उनले लगाए ।

सबै व्यवस्था एजेन्टले मिलाउँछन्: व्यापारी
कृष्णनगर भन्सार नाकाबाट शनिबार नेपाल प्रवेश गरी भन्सार पास भएको यूपी ३२ एमएन ३०५६ नम्बरको गाडीमा भिन्डी, लौका, फर्सी र भन्टा थियो । उक्त तरकारी बुटवलस्थित तरकारी मण्डीमा रहेको सब्जी सेन्टर सञ्चालक मोहमद अनिशले आयात गरेका हुन् । उनले उक्त गाडी शनिबार नेपाल प्रवेश गरी भन्सार पास भएर गोदाममा आइपुगेको स्विकारे । ‘मेरो गाडी शुक्रबार साँझ भन्सार नाकामा आएको थियो,’ उनले भने, ‘भन्सार एजेन्टलाई फोन गरेर गाडी पास गराउनभन्दा एजेन्टले भोलि नेपाल प्रवेश गरेपछि पास गराउँला भने ।’ शनिबार एजेन्टले कसरी गाडी पास गराए, विषादी जाँच कहाँ कसरी गराए भन्ने आफूलाई थाहा नभएको र त्यसको जिम्मा पनि उनैलाई दिएको अनिशले जनाए ।

सामान नआउँदै विषादी परीक्षणको प्रमाण र क्वारेन्टाइनको छोडपुर्जी पहिल्यै उपलब्ध हुन थालेपछि अन्य नाकाबाट कारोबार गर्ने व्यापारी आफ्नो व्यवसाय समस्यामा पर्न थालेको गुनासो गर्न थालेका छन् । ‘अन्य नाकाबाट विषादी परीक्षण प्रमाणपत्र नआउन्जेल भन्सार पास हुँदैन,’ रूपन्देहीको सिद्धार्थनगर–१ बेलहियामा फलफूल व्यवसायी अब्दुल रज्जाकले भने, ‘यतिबेला सबै व्यापारी कृष्णनगर नाकातर्फ आकर्षित हुन थालेका छन् । फलफूल र तरकारीका भारतीय गाडीवाला पनि अन्य नाकाबाट आउन सकेसम्म चाहँदैनन् ।’ तीन महिनाअघि दैनिक ३०/३५ वटा तरकारी र फलफूलको गाडी भैरहवा नाकाबाट आयात गर्ने गरेकोमा अहिले घटेर ८/१० मा सीमित रहेको उनले बताए । लकडाउन सुरु भएको केही दिनपछि कृष्णनगर नाकाबाट आयात छिटो हुन थालेपछि आयातकर्ता त्यता केन्द्रित हुन थालेको रज्जाकले जनाए ।

कृष्णनगर भन्सारको तथ्यांकअनुसार वैशाखदेखि यस नाकाबाट तरकारी र फलफूल आयात बढ्न थालेको छ । सूचना अधिकारी वासु नेपालले कृष्णनगर नाकाबाट वैशाखमा १० करोड, ६४ लाख, जेठमा १३ करोड ८३ लाख, असारमा २२ करोड ११ लाख र साउनको १७ गतेसम्म २९ करोड २९ लाख रुपैयाँ मूल्य बराबरको तरकारी र फलफूल आयात भएको जानकारी दिए ।

भारतबाट आयात गरिएका तरकारी र फलफूल सीमानाकामै विषादी जाँच गरेर मात्रै भित्रिन दिने भनी सरकारले ०७६ असार २ गते निर्णय गरेको थियो । तर, केही सातापछि पर्याप्त प्रयोगशाला नभएको जनाउँदै सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो । पछि, परीक्षण रोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विषादी जाँचलाई अनिवार्य गरिएको हो । त्यसका लागि सातवटै प्रदेशलाई हुने गरी विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको छ । अर्ग्यानो फस्फेट र कार्बोनेटमा १२ वटा समूहको विषादी हुने र १२ वटा समूहमा ६५ वटा विषादीको जाँच हुने गर्छ । कान्तिपुर दैनिकमा माधव ढुंगानाले खबर लेखेका छन् ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस