आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

मलेसियामा नेपाली सुरक्षा गार्डलाई निर्घात कुट्ने नेपाली नै

परदेशी खबर १८ श्रावण २०७७, आईतवार ०६:१७ मा प्रकाशित ( ३ साल अघि) ६५ पाठक संख्या

मलेसियामा नेपाली कामदारमाथि कुटपिट भइरहेको भिडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । ४४ सेकेण्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षा गार्डलाई निर्घात रुपमा कुटपिट गरिरहेका छन् । 

अपार्टमेण्टको पार्किङ्गमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पिटाई खाईरहेका छन् । भिडियो खिचिरहेका अर्को व्यक्तिले भने धेरै भयो छोडी देउ भनिरहेका छन् । हिन्दी लवजमा नेपाली शब्द प्रयोग गरी उनले अब छोडी देउ भनिरहेका छन् । 

सो भिडियो सामाजिक सञ्जालमा भाईरल भइसकेपछि मलेसिया स्थित नेपाली दूतावासले सुचना जारी गरी भिडियोमा भएका व्यक्तिको बारेमा जानकारी भएमा खबर गर्न आह्वान गरेको थियो । भिडियोमाथि कमेण्ट गर्दै धेरै नेपालीले कुटपिट गर्नेलाई कडा सजायको माग गरेका छन् । मलेसियास्थित विभिन्न निकायले सो घटनाको निन्दासमेत गरेका छन् । 

कुट्ने पनि नेपाली नै 

मलेसियामा नेपाली कामदारमाथि कुटकुट गर्ने व्यक्ति नेपाली नै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षा गार्डमाथि कम्पनीका नेपाली सुपरभाईजले नै निर्घात रुपमा कुटपिट गरेका हुन् । 

पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । कुटाई खाने नेपाली श्रमिकका दाईले नेपालबाट दूताबासलाई सम्पर्क गरेका  थिए । 

राजदूत पाण्डेले भने, ‘हामी श्रमिक भएको स्थानमा गएर पीडितलाई दूतावासमा ल्याएका छौ । सुरक्षाका लागि उनलाई दूतावासमा नै राखिएको छ ।’ राजदूत पाण्डेका अनुसार पीडक नेपाली श्रमिक गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका छन् । उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले जनाएको छ । त्यस्तै दूतावासले पीडक श्रमिकलाई पनि सम्पर्क गरिसकेको छ । 

सोमबार प्रहरीमा मुद्दा दायर गरिने

नेपाली सुरक्षा गार्डमाथि भएको कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केश दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक विदा हुने भएकाले दूतावासले सोमबार मात्रै केश दर्ता गर्ने जनाएको छ । 

दूतावासले पीडकलाई सम्पर्कगरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । पाण्डेका अनुसार पीडकको भिसाको अवस्थाकोबारेमा भने विस्तृत जानकारी नभएको बताए । 

सोमबार प्रहरीमा उजुरी दर्ता भएपछि दूतावासले सम्पूर्ण जानकारी गराउने उनले बताए । समाचारका कारण उजुरी दर्तामा समस्या पर्ने भन्दै राजदूत पाण्डेले पीडक र पीडितको नाम र कम्पनी खुलाउन मानेनन् । यो खबर नयाँ पत्रिकाले  प्रकाशित गरेका छन ।