राजधानी काठमाडौं र शहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममा

साउन १४, काठमाडाैं/ सरकारले लकडाउन अन्त्य गरेसँगै शहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ ।

भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो ।

पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि शहर फर्किने क्रम शुरू भएको छ । यसले पनि शहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्न समेत चुनौती बन्दै गएको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलवार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलवार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलवार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन् । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट बच्ने उपाय भनेकै व्यक्ति आफैं सतर्क रहनु रहेको बताए । उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । कतै हिँड्दा मास्कको समुचित प्रयोग गर्नुपर्छ । जोगिने उत्तम उपाय भनेकै आफू सजग रहनु हो ।’

पछिल्लो ११ दिनको अवधिमा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत ३ साउनसम्म संक्रमितमध्ये ४० जनाको मृत्यु भएकामा मंगलवारसम्म मृतकको संख्या ४९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३९ जना रहेको छ । हाल १५ हजार ३३१ जना क्वारेन्टीनमा बस्दै आएका छन् । संक्रमितमध्ये हालसम्म १३ हजार ८७५ जना डिस्चार्ज भएका छन् ।

मंगलवार मात्रै १ सय २१ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौं उपत्यकामा ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलवार काठमाडौं उपत्यकामा ५३ जनामा संक्रमण देखिएको थियो ।

मंगलवार काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । केही दिनयता काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरूको संख्या बढेसँगै संक्रमितको संख्या बढेको हो । राजधानी दैनिकमा खबर छ ।






Related Posts
  • आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने
  • सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय
  • पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन
  • लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस