आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अविरल वर्षाले पृथ्वी राजमार्ग क्षतविक्षत

परदेशी खबर ६ श्रावण २०७७, मंगलवार ०४:२३ मा प्रकाशित ( ३ साल अघि) ३१५ पाठक संख्या

साउन ६,काठमाडाैं / आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको छ । चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो । खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ ।

उक्त पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् । गजुरी–२ माझडाँडामा बाढीले ५ घर बगाएको छ । घटनामा १७ वर्षीया निरुता परियारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सरसामान निकालेर ५ परिवारका १६ जनाले घर छाडेपछि ‘सुटकेस छुटेको’ भन्दै फर्केकी परियार बगेकी थिइन् । सशस्त्र प्रहरीले दिउँसो पहिरो पन्छाएर शव निकालेको हो ।

सिमेन्ट उद्योगलाई चुनढुंगा आपूर्ति गर्ने अन्नपूर्ण क्वेरिजको कार्यालय र अस्थायी प्रहरी पोस्टसहित स्थानीयका ८ वटा पसल जवाङ खोलाको बाढीले बगाएको छ । सोमबार करिब १२ बजे आएको भेलले जवाङ खोला पुलमा मुढा र ठूला ढुंगा थुपारेको छ । यसअघि यस्तो भेल २०५० सालमा आएको स्थानीयले बताएका छन् । त्यसबेला त्रिशूली नदीको बाढी राजमार्गसम्म आएको थियो । ‘योपल्ट पनि बाढी आएर राजमार्गमै ढुंगामुढा ल्याएर थुपार्‍यो,’ जवाङ खोलाका स्थानीय स्याने घलेले भने । आफ्नो पसल बाढीले बगाएपछि ५ वटा पहिरो पार गर्दै घले ८ जनाको परिवारसहित आफन्तकहाँ शरण लिन पुगेका छन् ।

जवाङ खोलामा आएको बाढीले अस्थायी प्रहरी चौकी घेरेपछि त्यहाँका प्रहरीले भागेर ज्यान जोगाएका थिए । राजमार्गमाथि रहेका सिमेन्ट उद्योगबाट आएका ग्रेगान र पहिरोले तेक्राङमा कुखुरा बोक्ने पिकअप गाडी, एउटा कार र एउटा भ्यान बगाएको छ भने एउटा कन्टेनर बोकेको ट्रक र दुईवटा जिप आधा पुरेको छ । गजुरीको जहेमा पनि एउटा कार पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

‘मलेखु, फुर्के खोला र जहरेलगायतमा खसेको पहिरोमाथिका खानी र ग्रामीण सडकबाटै राजमार्गमा आएको देखिएको छ,’ राजमार्ग निरीक्षणमा निस्केका जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने । त्रिशूलीले जोगीमाराका दुई स्थानमा राजमार्ग भत्काएको छ । पहिरो पन्छाइसकेपछि मौवा खोलाको क्षतिग्रस्त पुल गजुरीस्थित नेपाली सेनाको ब्यारेकमा रहेका बेलिब्रिज लिएर जडान गर्ने योजना रहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘पहिरो पन्छाउन मंगलबार दिनभर लाग्न सक्छ,’ उनले भने, ‘चारैतिर पहिरो गएपछि राजमार्गका विभिन्न भागमा सवारीसाधन अलपत्र छन् ।’

नारायणगढ–मुग्लिङ सडकअन्तर्गत चारकिलोस्थित कालीखोलामा सोमबार बिहान खसेको पहिरोले यातायात ठप्प भएको छ । यही ठाउँमा गत असार ३ मा पनि पहिरो खसेको थियो । सोमबार त्योभन्दा ठूलो पहिरो खसेको हो । वर्षा नरोकिएकाले पहिरो हटाउने काम पनि सुरु हुन सकेको छैन ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दुई लोडर र दुई एक्स्काभेटर पहिरो पन्छाउन तयारी राखिएको छ । दिउँसो १ बजे पहिरो हटाउन सुरु गरेलगत्तै ठूलो पानी परेपछि काम रोक्नु परेको थियो । ‘पानी परेसँगै माथिबाट लेदो झर्दा काम गर्न सकिएन,’ खनालले भने, ‘साँझ ४ बजेतिर फेरि काम सुरु हुँदा एउटा मेसिन नै बिग्रियो ।’ चितवन प्रशासनले सडक अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सूचना गरेको छ ।

नियमित काम गर्न सके मंगलबार साँझसम्म यातायात सञ्चालनमा ल्याउन सकिने इन्जिनियर खनालले बताए । नारायणगढ–मुग्लिङ सडकलाई फराकिलो बाटो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटेका ठाउँमा पहिरो खस्ने
गरेको हो ।
कालीखोलामा चार वर्षयता लगातारजसो पहिरो खस्ने गरेको छ । पहिरो नियन्त्रणको काम सुरु भए पनि कालीखोलामा पूरा हुन सकेको छैन ।

गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो
परासी– नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानाको ब्यारेजका ३६ वटै ढोका सोमबार राति खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिंहले बताए । सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्युसेक पानी प्रवाह भइरहेको छ । तीन लाखप्रति क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिंहले बताए ।

निर्माणको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेकमात्र भारवहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमान्डका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गण्डक क्षेत्रको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन र बाढीको पूर्वसूचना प्रवाह गरिएको बताए । तटीय क्षेत्रमा सम्भावित विपत्लाई मध्यनजर गर्दै उद्धारका लागि सुरक्षाकर्मीलाई सतर्क गराइएको छ ।

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सारियो
म्याग्दी– कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । भारी वर्षापछि म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसा खोलामा पानीको बहाव बढ्दा कालीगण्डकी नदीले सतर्कता तह पार गरेको छ । कालीगण्डकीको सतर्कता तह ४ मिटर हो । सोमबार राति १० बजे बहाव ४ दशमलव ३१ मिटर पुगेको हो ।

जल सतह बढ्दै गएकाले कालीगण्डकीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सोमबार साँझदेखि माइकिङ गर्दै सुरक्षित स्थानतर्फ सारिएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीसहित बस्ती, दाना बस्ती र सदरमुकाम बेनीमा जोखिम बढेको भन्दै ती क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आह्वान गरिएको हो ।

नदी क्षेत्रका विभिन्न खण्डमा बाढीको निगरानी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । म्याग्दी नदीमा पनि जल सतह बढेपछि पश्चिम दरवाङ बजारदेखि बेनीसम्मका तटीय बस्ती कटानको जोखिममा परेका छन् । नदी किनारका कालीपुल, पारिवौर, पारिबेनीको सुकुम्बासी बस्तीका स्थानीयलाई सुरक्षितस्थलतर्फ सारिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

राहुघाट खोलाको बाढीले कालीगण्डकी नदीको धार परिवर्तन गरेकाले पारि मल्लाजतर्फ रहेको राममन्दिरको आश्रम बगाएको छ । भारी वर्षापछि धौलागिरि हिमालको फेदीबाट झर्ने रुप्से झरनाले एक होटलमा पार्किङ गरिएको एक्स्काभेटर र बस बगाएको स्थानीय इन्द्रसिं शेरचनले बताए । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरा नजिकैको ठाडो खोलाको बाढीले एक जनालाई बगाएको स्थानीय रीता बरुवालले दाबी गरिन् । तर प्रहरीले बाढीमा कोही बेपत्ता भएको बारे कुनै जानकारी नपाइएको बताएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार तल्लो घाँसाको ठाडो खोलाको बाढीले बेनी–जोमसोम सडकमा निर्माणाधीन पुल बगाएको छ । कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले खबर लेखेका छन् ।