आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति

परदेशी खबर १७ जेष्ठ २०७७, शनिबार ०८:२६ मा प्रकाशित ( ३ साल अघि) १७९ पाठक संख्या

जेष्ठ १७,काठमाडौँ — नेकपा सचिवालयको अनौपचारिक बैठकले सम्झौता अनुमोदन नभएसम्म एमसीए अन्तर्गतका काम रोक्ने सहमति गरेको छ। बजेटको अनुसूचिमा एमसीसी अनुदान कार्यक्रम समेटिएपछि पार्टीभित्र उत्पन्न विवादबारे छलफल गर्न बसेको सचिवालय बैठकमा यस्तो सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार संसदबाट सम्झौताअनुमोदन नभईसकेको अवस्थामा एमसीएका कामहरु सम्झौता अनुमोदन भएपछि मात्रै गर्न सकिने सहमति बैठकमा भएको छ । त्यसबारे प्रधानमन्त्रीले बुझेर आवश्यक निर्देशन दिने सहमति पनि बैठकमा भएको छ ।

‘संसदबाट सम्झौता अनुमोदन नभईसकेको अवस्थामा एमसीएका कामहरु सम्झौता अनुमोदन भएपछि मात्रै गर्न सकिनेछ, ती कामलाई सम्झौता अनुमोदन भएपछि नै गर्ने सहमति बैठकमा भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्योसँग जोडिएका अन्य कामहरु सम्झौता अनुमोदन नहुँदा सम्म नगर्नुपर्ने छन् भने त्यसलाई रोक्ने समझदारी भएको छ ।’

सचिवालय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा एमसीसीलाई समावेश गरिएकोबारे स्पष्ट पार्ने कोशिष गरेका थिए । संसदले एमसीसी अनुमोदन नगरे बजेटमा समावेश त्यससम्बन्धी कार्यक्रम सरकारले वैकल्पिक व्यवस्थाबाट अगाडि बढाउने मन्त्री खतिवडाको भनाई थियो ।

बजेटको अनुसूचिमा एमसीसी अनुदान विवादपछि शनिबार बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकमा अर्थमन्त्री खतिवडाले यसबारे संसदलाई पनि स्पष्ट पार्ने बताएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमसीसीको प्रस्ताव अहिले संसदमा विचाराधीन छ । प्रधानमन्त्रीले संसदलाई जानकारी गराएअनुसार नै एमसीसी संसद्‍बाट अनुमोदन भए त्यसैअनुसार हुने र यदि संसदले अनुमोदन गरेन भने सरकारले वैकल्पिक व्यवस्थाबाट अगाडि बढ्ने कुरा अर्थमन्त्रीले यूवराज खतिवाले स्पष्ट पार्नुभएको छ । संसदमा पनि त्यसै अनुसार स्पष्ट पार्ने सहमति भएको छ ।’

यसअघि नीति तथा कार्यक्रममा एमसीसीसँग जोडिएका कार्यक्रम समेटिएपछि नेकपामा प्रश्न उठेका थिए । त्यसमा प्रधानमन्त्री केपी ओलीले एमसीसी अनुमोदन नभए अन्य तरिकाले प्रशारणलाइन्सम्बन्धी योजना अगाडि बढ्ने बताएका थिए । नेकपाले एमसीसीबारे थप निर्णय भने दुई अध्यक्षको सल्लाहपछि बस्ने अर्को सचिवालय बैठकबाट लिने प्रवक्ता श्रेष्ठले बताए ।

‘एमसीसी सम्झौतका बारेमा पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाईसकेको छ । त्यो प्रतिवेदनलाई समेत अध्ययन गरेर छिटटै पार्टी सचिवालय बैठकमा त्यसबारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको छ । त्यसको लागि दुवै अध्यक्षले समझदारी गरेर सचिवालय बैठकको मिति तय हुनेछ,’ उनले भने ।

बैठकमा अर्थमन्त्री खतिवडासहित एमसीसी अध्ययन कार्यदल सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावललाई पनि आमन्त्रित गरिएको थियो । कान्तिपुर दैनिकबाट