आजबाट नेपाल एक साता लकडाउन

काठमाडौं : सरकारले अन्ततः देशै लकडाउन गरेको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो। यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन्।

सरकारले यो निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाटै गरेको र त्यसको सार्वजनिकीकरण मात्र सोमबार गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए। कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा. खतिवडाले बताए।

‘यो एकप्रकारले सरकारको आदेश हो। आइतबारकै मन्त्रिपरिषद् बैठकले गरेको निर्णय थियो, आज मात्र हामीले सार्वजनिक गरेका हौं’, उनले भने, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पनि अब यसलाई हामी सबैले लागू गर्नुपर्छ।’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले यस्तो कदम उठाएको हो। यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाउँदैनन्। त्यसबाहेकका कर्मचारीलाई भने कार्यालय प्रमुखले आवश्यकताका आधारमा बोलाउने गरी घर-घरमै अलर्ट अवस्थामा राख्ने गरी बिदा दिने निर्णय पनि भएको उनले सुनाए।

लकडाउनपछि निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द हुनेछन् भने आन्तरिक हवाई उडान बन्द हुनेछन्। लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान भने सरकारले यसअघि नै बन्दको घोषणा गरेको थियो। सोमबार मात्रै नेपालसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका उत्तरी चीनतर्फका २ वटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिण भारततिरका ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी कुल १ सय ६४ वटै नाका पनि सिल गरेको थियो।

पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार सरकारको यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँड्न पाउनेछन्। अन्यका लागि घरभित्रै बस्नुपर्ने हुन्छ। फ्रान्सबाट दोहा कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक १९ वर्षीया किशोरीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि सरकार नेपाललाई लकडाउन गर्ने निर्णयमा पुगेको हो।

निर्णय सार्वजनिक गर्नुअघि सोमबारै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले कोरोना भाइरससँग सम्बन्धित व्यक्ति, उपचारमा संलग्न स्वास्थ्यकर्मी, संक्रमति व्यक्तिलगायतले पालना गर्नुपर्ने विधि, सुरक्षित उपाय अपनाउन प्रयोग गरिने तयारीका विषयमा केन्द्रित हुने गरी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृति गरेको मन्त्री खतिवडाले बताए।

सरकारले सोमबार साँझदेखि काठमाडौं बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पताललाई सञ्चालनमा ल्याएको छ। उक्त अस्पताललाई सरकारले डेडिकेटेट अस्पतालका रूपमा सञ्चालन गर्ने आइतबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय लिएको थियो।

‘सेनाको चिकित्सकको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक निजी क्षेत्रका चिकित्सक स्वास्थ्यकर्मी परिचालन गरी सोमबारदेखि नै उक्त अस्पताल सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ’, मन्त्री खतिवडाले भने, ‘यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको छ।’

के गर्न पाँइदैन ?

औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन्।

-अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लाग्नेछ।

-सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन्।

-स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने।

-औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।

-व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने।

-संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउने।

-अपहेला गर्ने वा काममा बाधा पुर्‍याउनेलाई सोही ऐनबमोजिम सजाय गर्ने। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन ।  






Related Posts
  • नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा मनाए
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २२५ र संक्रमित संख्या ६२,५२५ र १ मुत्यु
  • कुवेतमा कोरोना संक्रमनबाट ७१ हजार ७१३ सङ्क्रमित, ५१४ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)
  • नयाँ ३८० जनामा कोरोना संक्रमण : कुल संक्रमितको संख्या २२ हजार ९७२ पुग्यो
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा मनाए

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित २२५ र संक्रमित संख्या ६२,५२५ र १ मुत्यु

    कुवेतमा कोरोना संक्रमनबाट ७१ हजार ७१३ सङ्क्रमित, ५१४ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस