आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

बढायो कोरोनाले सम्बन्धविच्छेद

परदेशी खबर ४ चैत्र २०७६, मंगलवार १०:०८ मा प्रकाशित ( ४ साल अघि) ८३ पाठक संख्या

काठमान्डौ, ४ चैत । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव मानव शरीरसँगै सम्बन्धमा समेत देखा पर्न थालेको छ। कोरोना भाइरसले स्वास्थ्यसँगै जीवनका हरेक पक्षलाई तहस नहस पार्न थालेको छ।

अहिले विश्वभरका मानिसको दिनचर्या अस्तव्यस्त बनेको छ। धेरै प्रभावित देशमा मानिस महिना बढी घरमै बस्न बाध्य छन्। जसको प्रभाव पारिवारिक विचलन जस्ता समस्या देखिन थालेका छन्। कोरोना भाइरसको उद्गम राष्ट्र चीनमा कोरोनाको प्रभाव अप्रत्याशित रूपमा वैवाहिक सम्बन्धमा नराम्ररी देखिएको त्यहाँका स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

कोरोनाका कारण मानिस महिनौंँ सँंगै घरमा बसिरहँदा सम्बन्धविच्छेदको घटनासमेत बढेको हो। अन्तर्राष्ट्रिय संचार माध्यम ग्लोबल टाइम्सले चिनियाँ शहर शीआनमा हालैका दिनमा सम्बन्धविच्छेदका घटना बढेको उल्लेख गरेको छ। सिन चेव डेलीले उत्तरपश्चिम चीनको शांक्सी प्रान्तको राजधानी शीआनमा रहेको विवाह पञ्जीकरण कार्यालयको तथ्यांकअनुसार सम्बन्धविच्छेदको संख्या बढेको उल्लेख गरेको छ। फेब्रुअरी २४ देखि यता मात्रै ३०० बढी जोडिले सम्बन्धविच्छेद गरेको तथ्यांक छ।

सम्बन्धविच्छेदको दर कोरोना भाइरसको प्रकोपअघिको तुलनामा बढेको दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तको दझौस्थित विवाहदर्ता कार्यालयका म्यानेजर लू शिजुनलाई उद्धृत गर्दै एक स्थानीय संचारमाध्यमले उल्लेख गरेको छ। कोरोनाका कारण घरमा धेरैभन्दा धेरै समय बिताइरहेका जोडीबीच मनमुटाव तथा झै-झगडा बढेपछि उनीहरू सम्बन्धविच्छेदसम्म पुग्ने गरेका पाइएको छ।

विवाहित जोडीहरू घरमा लामो समयसँगै बिताउँदा अनेकन विवादमा फस्ने गरेका बताइएको छ। देशभरका पञ्जीकरणको कार्यालयका अनुसार कोरोना भाइरसका क्रममा दम्पतिले आफूलाई घरमै सेल्फ-क्वारेन्टाइनमा राखेका छन्। केही जोडी महिनौँ एकअर्कासँग घरमा बसिरहेका छन्। शीआन शहरका १७ जना नागरिक मामिलासम्बन्धी ब्यूरोका कार्यालयमा डिभोर्स अर्थात् सम्बन्धविच्छेदका निवेदनको संख्यामा वृद्धि भएको पाइएको छ।