आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कोरोना भित्रिए पहिलो महिना १५ सय संक्रमित हुने अनुमानका आधारमा सरकारी तयारी

परदेशी खबर २ चैत्र २०७६, आईतवार ०९:०६ मा प्रकाशित ( ४ साल अघि) १८० पाठक संख्या

 

काठमान्डौ, २ चैत्र । सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ । यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर कार्ययोजना बनाएको बताए । ‘भियतनाम, मलेसिया, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीव्र रूपमा बढेको छैन । तर, इरान, इटाली, दक्षिण कोरियामा एक्कासि बढेको छ । इटाली र इरानकै गतिमा नेपालमा संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन् । यही आधारमा सरकारले तयारी गरिरहेको छ,’ उनले भने ।

स्वास्थ्य अधिकारीहरूका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय केसका लागि तयार रहन आग्रह गरेको थियो ।

संक्रमित सबैलाई अस्पताल लैजान नपर्ने सरुवारोग विशेषज्ञहरू बताउँछन् । सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार १५ सय संक्रमित हुँदा ८० प्रतिशत अर्थात् १२ सय बिरामी अस्पताल जानुपर्ने अवस्थाका हुँदैनन् । कपितयलाई ज्वरो नै नआउन पनि सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धालाई मात्रै समस्या हुन्छ । १५ प्रतशित अर्थात् १५ सयमा दुई सय २५ बिरामीलाई अस्पतालको आइसियू आवश्यक पर्छ । त्यस्तै, अन्य ७५ बिरामीलाई आइसियूसहित भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर अवस्थाका बिरामीमध्ये ३ दशमलव ३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको डा। पुनले बताए ।

स्वास्थ्यका एक अधिकारीले पनि अहिले सरकार ७५ जना गम्भीर बिरामीलाई कहाँ र कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्नेमा जुटेको बताए । कोरोना संक्रमितलाई लक्षणका आधारमा उपचार गर्ने तयारी छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा। अनुप बास्तोलाले लक्षणका आधारमा संक्रमितको उपचार गरिने बताए । ‘कोरोना संक्रमितलाई एचआईभी, मलेरिया र फ्लुको औषधि चलाइने छ,’ बास्तोलाले भने, ‘निमोनिया भएको छ भने निमोनियाविरुद्धको औषधि पनि दिइन्छ । फोक्सोमा समस्या भए आइसियु भेन्टिलेटरको सहायतामा उपचार गरिन्छ ।’

जनस्वास्थ्य प्रयोगाला टेकुसँग आपत्कालीन अवस्थामा कोरोना परीक्षण गर्न दुई हजार किट मौज्दात छ । अभाव हुन नदिन थप दुई हजार किट खरिद प्रक्रिया अघि बढाएको छ । साथै आठ हजारका लागि प्रस्ताव गरेको प्रयोगशाला प्रमुख डा। रुणा झाले बताईन् । उनका अनुसार एकै पटक धेरैको परीक्षण गर्दा किट कम लाग्छ, तर एक–एक व्यक्तिको परीक्षणमा धेरै खर्च हुन्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले कोरोना लक्षित कार्ययोजनाका लागि बिहीबार मन्त्रालयबाट २८ करोड बजेट पाएको छ । यो बजेटले आवश्यक उपकरण खरिदको तयार गर्दै छ । ‘हामी जतिसक्दो चाँडो आवश्यक उपकरण खरिद गर्दैछौँ,’ विभागका महानिर्देशक श्रेष्ठले भने । बजेट अपुग भए पुनः अर्थ मन्त्रालयसँग माग्ने उनले बताए ।

प्रिफ्याव भवन निर्माण प्रस्ताव अस्वीकृत

त्रिभुवन विमानस्थलमा यात्रुको कोरोना परीक्षण व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले गरेको प्रिफ्याव भवन निर्माणको प्रस्ताव अस्विकृत भएको छ । खुला स्थानमा परीक्षण हुँदा धेरै यात्रु त्यसै बाहिरीएको भन्दै स्वास्थ्यले प्रिफ्याव भवन बनाउने प्रस्ताव गरेको थियो ।

तर, लागत महँगो भएको भन्दै मुख्य सचिवले अस्वीकार गरेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो । दुई करोड लागत लाग्ने योजना सहितको प्रस्ताव मुख्य सचिव नेतृत्वको समितिमा पेश भएको थियो । मुख्य सचिवले अघि नबढाउने भनेपछि अहिलेकै स्वास्थ्य जाँच नियमित हुने भएको छ ।

घरमा क्वारेन्टाइन कसरी बस्ने : प्रवक्ता डा विकास देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

घरमा क्वारेन्टाइन गर्नुपूर्व सम्बन्धीत व्यक्तिलाई विमानस्थलमा आवश्यक जानकारी दिएका छौं । विदेशबाट आएका व्यक्तिको सबै विवरण भराइन्छ । ती व्यक्ति जाने र बस्ने ठाउँ स्पष्टरुपमा उल्लेख गरिएको हुन्छ । हामीले उनिहरूको ठेगाना अनुसार सम्बन्धीत जिल्लाको स्थानीय तहमा सबै रिपोर्ट पठाउछौं । त्यहाँको स्वास्थ्यकर्मीले उसको निगरानी गर्नेछ । र १४ दिन पछिको अवस्थाको प्रतिवेदन पेश गर्छ । हजारौं व्यक्ति घर मै क्वारेन्टाइन हुदा केन्द्रले निगरानी गर्न सम्भव हुदैन त्यसलै सम्बन्धीत ठाउँको पालिकाले त्यसको निगरानी गर्छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई हामीले कुन कुन ठाउँमा कती जना क्वारेन्टाइनमा छन भनेर जानकारी दिन्छौं । मन्त्रालयले स्थानीय तहमा पठाउँछ र स्थानीय तहले वडामा पठाउँछ ।

१८ जना एक्टिभ सर्भिलेन्स अफिसर खटाइयो

विश्वस्वास्थ्य संगठनको समन्वयमा कोरोना संक्रमित खोज्न एक्टिभ सर्भिलेन्स अफिसर खटाएको छ । अस्पतालमा नआएको पनि हुनसक्ने भन्दै डब्ल्युएचओको समन्वयमा १८ जना स्वास्थ्यकर्मी संक्रमित खोजी गर्न बाक्लो बस्ति भएको स्थानमा खटाएको छ । एक्टिभसर्भिलेन्स खोजी अन्तर्गत डब्ल्युएचओले सपिङ् महल, मान्छेको बढी जमघट हुने एरियाहरूको पहिचान गरी कर्मचारी त्यहा पुग्नेछन् । उनिहरूले बिरामी व्यक्ति खोज्ने र कोरोना बारे जानकारी मुलक ब्रोसर वितरण गर्नेछन् । मास्क र सेनिटाइजर प्रयोग गर्न सिकाउनेछन् । तीन महिना उनिहरूले काम गर्ने छन् । देशभर खटिएका ती १८ कर्मचारीलाई विश्वस्वास्थ्य संगठनले नै तलब खुवाउने छ ।

प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा कटौती

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले आफु मातहतका स्वास्थ्यकर्मीलाई प्रसुति र किरिया विदा वाहेक अन्य विदा नदिने निणय गरेको छ । विश्वव्यापी रुपमा कोभिड १९ को माहामारी फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यकर्मीलाइ प्रसुति र किरिया विदा वाहेक अन्य विदा नदिने निणय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कमचारी प्रशासन शाखाले एक विज्ञप्ती जारी गर्दै अति अवश्यक अवस्थामा पनि वैकल्पिक व्यवस्था गरेर मात्र विदा स्वीकृत गर्न गराउन निर्देशन दिएको छ । मन्त्रालयले अर्काे सूचना जारी नहुन्जेल सम्मलाइ तोकिएको बाहेक अन्य विदा नदिने निर्णय गरेको हो ।

यसरी गरियो १५ सयमा कोरोना संक्रमणको अनुमान : महेन्द्र श्रेष्ठ महानिर्देशक,
स्वास्थ्य सेवा विभाग

संसारभरका विभिन्न देशको अनुभव लिएका छौँ । हाम्रोमा पनि सुरुमा एउटा केस त फेला परेको हो, तर उपचार गर्न सफल भयौँ । हामीसँगै कोरोना देखापरेका केही देशमा ४७ दिनसम्म थप देखिएका छैनन् । मकाउ, भियतनाम, मलेसिया, थाइल्यान्डमा केस तीव्र गतिमा बढेका छैनन् । तर, इरान, इटाली, दक्षिण कोरियामा एक्कासि बढेको छ । इटालीमा जस्तो केस नेपालमा भयो भने त्यो गम्भीर हो । हामीले अहिले इरान र इटालीलाई उदाहरणका रूपमा लिन सकिन्छ । एक महिनामा ती देशमा कति फैलिएको थियो ? इरान र इटालीजस्ता देशलाई आधार मान्दा एक महिनाभित्र १५ सय नेपाली संक्रमित हुनेछन् । एक महिनापछि थप बढ्न सक्छ । तर, अब हामी त्योभन्दा माथि जानुपर्छ । अझ बढी संक्रमण फैलियो भने तीन हजार र एकदमै नराम्रो गरी फैलियो भने महिनामा पाँच हजारसम्म पुग्छ भन्ने हो । तर, अहिले एक महिनामा १५ सयलाई संक्रमण हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सल्लाहमा सोहीअनुसार तयारी भएको छ । नयाँ पत्रिकाबाट साभार