आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

परदेशी खबर ९ फाल्गुन २०७६, शुक्रबार ०१:३८ मा प्रकाशित ( ४ साल अघि) ९७ पाठक संख्या

विराटनगर : छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो।

उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ। उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा÷हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्।

अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनुपर्छ। स्मरणशक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन्।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए। उनी चटपटे बेचेर परिवार चलाउँछन्। हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन्। सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन्। टहरो स्थानीय बासिन्दाले बनाइदिएका हुन्। पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ।

राउत परिवार भोजपुरको दावाँबाट संखुवासभा खाँदबारीस्थित चेवा हुँदै २०३२ सालमा झापाको महारानी झोडा झरेको थियो। २०५७ सालमा इलामको लक्ष्मीपुर पुग्यो। चार वर्षदेखि बेलबारीमा बस्दै आएको यो परिवार गरिबीको चपेटामा छ। पैसा नहुँदा दिलबहादुरले नातिको उपचार गराउन सकेका छैनन्।

उनका दुई छोरा छन्। जेठा छोरा अर्जुनकी पत्नी कल्पना अर्कैसित गइन्। उनका १६ वर्षीय छोरा आयुष कक्षा ९ मा पढ्छन्। ‘बुहारीले छाडेर हिँडिन्,’ दिलबहादुरले भने, ‘सधैं मदिरा पिएर हिँड्ने जेठाको केही भर छैन।’

खोरभित्र थुनिएका अपांगता भएका बालकको अवस्था नियाल्दै अग्रज पत्रकार जीवनाथ खनाल 

दिलबहादुरका कान्छा छोरा गुञ्जनसँग २०६४ सालमा बिहे गरेकी जुनु राईले २०६६ सालमा जगतलाई जन्माइन्। उनले पनि ६ वर्षअघि दोस्रो बिहे गरिन्। ‘बुहारीले छाडेपछि छोरो बराल्लियो। कहाँ जान्छ र के गर्छ थाहा हुँदैन’, दिलबहादुर भन्छन्, ‘कहिलेकहीं रक्सी पिएर आइपुग्छ।’

उमेर बढ्दै गएकाले नातिलाई आफूहरूले उचाल्न पनि नसक्ने उनी बताउँछन्। दिलबहादुरले भने, ‘चाल नपाउने भएकाले कपडामा दिसापिसाब गरेर खेलाउन थाल्छ।’

बल्लतल्ल डेढ लाख रुपैयाँ जुटाएर भारतको सिलिगुडीसम्म लगेर औषधि उपचार गरे पनि नातिलाई निको नभएको दिलबहादुरले बताए। उनले भने, ‘थप पैसा नभएकाले बाँकी उपचार गर्न सकिएन।’यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।