आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभित्र आगो लागि

परदेशी खबर २७ माघ २०७६, सोमबार १९:३६ मा प्रकाशित ( ४ साल अघि) १५८ पाठक संख्या

२७ माघ, काठमाडौं । विमानस्थल आफैंमा अतिसंवेदनशील क्षेत्र हो, त्यसमाथि काठमाडौंको व्यस्त अन्तार्राष्ट्रिय विमानस्थलमा सोमबार राती आगलागी भयो । हवाई सुरक्षाविज्ञहरुका अनुसार विमानस्थलको बोर्डिङ एरियाभित्र एउटा लाइटर बाल्नुलाई पनि निकै खतरापूर्ण मानिन्छ ।

अन्तार्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभित्रैको कफिसपमा आगो सल्किएपछि विमानस्थल नै बन्द गर्नुपर्‍यो । एक्कासी आगो फैलिन सुरु गरेपछि करिब २ घण्टाभन्दा बढी उडान-अवतरण नै बन्द गर्नुपरेको थियो ।

विमानस्थलका एक अधिकारीका अनुसार यो आगलागी समयमै नियन्त्रण हुन पाएकाले ठूलो दुर्घटनाको जोखिम टरेको छ । यदि विमानस्थलमा थप आगो फैलिएको भए टर्मिनलभित्र मात्रै हैन, पार्किङमा रहेका विमानसम्म  जोखिममा हुन्थ्यो ।  त्रिभुवन विमानस्थल निकै साँघुरो भएकाले पनि यस्ता घटनामा जोखिम उच्च हुने गर्छ ।

विमानमा ठूलो विष्फोटसहित आगो लाग्ने अवस्था आए त्यसले ठूलो विपद निम्तिने डर हुने ती अधिकारीको भनाइ छ ।

आयल निगम स्रोत अनुसार विमानस्थलको टर्मिनल भवनमा आगो लाग्दा निगमको हवाई इन्धन रिफ्युलर ट्यांकहरु धावनमार्ग आसपास नै थिए । यदि आगो फैलिएर यस्ता रिफ्युलरमा सल्किए मात्रै पनि ठूलो दुर्घटनाको निम्तिने निगमका अधिकारी बताउँछन् ।

‘विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा भएको आगलागीलाई पटक्कै सममान्य मान्न सकिँदैन,’ ती अधिकारी भन्छन्,’विमानस्थलको भौतिक तथा विद्युतीय सुरक्षाको पाटो यसले छर्लङ्गै बनाइदिएको छ ।’

विमानस्थलको छेउमै निगमको हवाई इन्धनको डिपो समेत छ । जसले गर्दा विमानस्थल आफैंमा निकै जोखिममा छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केकसी समयमै यात्रीलाई बाहरि निकालिएकोले मानवीय क्षति नभएको बताउँछन् । उनले आगो केकारणले लागेको हो भन्नेबारे अनुसन्धान सुरु भएको छ । प्रहरीले विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने भनेपनि कफिसपको लापरवाही पनि कारण थियो कि भन्ने आअंका छ ।

केसीका अनुसार प्रतिक्षा कक्षको कफीसपबाट आगोलागी फैलन थालेलगत्तै यात्रीलाई धावनमार्गतर्फको भागको गेटबाट बाहिर निकालिएको थियो । यसरी यात्रीलाई एकाएक धावनमार्गतर्फ निकाल्दा अन्य खालका दुर्घटनाको पनि सम्भावना हुन्छ । तर, विमानस्थलले यसमा होसियारी अपनाएको थियो ।

यात्रुलाई बाहिर निकालेपछि मात्रै आगलागी नियन्त्रणमा लिन दमकल पुगेको थियो । विमानस्थलमा आगो लागेपछि अवतरण गर्नुपर्ने विमान होल्ड गर्नुपरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मनत्रीका स्वकीय सचिव प्रेम गुरागाइँले अति सम्वेदनशील स्थानमा सामान्य अगलागी मात्र भएको टिप्पणी गरेका छन् ।

उनले टिवटमा लेखेका छन्,’विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा विद्युत सर्ट हुँदा आगलागी भएको हो, यसबाट कुनै मानवीय क्षति भएको छैन । प्रहरी तथा विमानस्थलका बारूण यन्त्रले आगो नियन्त्रण भई सकेको छ ।’समचार साभार : अनलाइन खबरबाट