आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेत लगायत खाडी देशमा नेपाली कामदारलाई सुरक्षित रहन र दुतावासको सम्पर्क रहन आग्रह

परदेशी खबर २१ पुष २०७६, सोमबार १०:५९ मा प्रकाशित ( ४ साल अघि) १८६ पाठक संख्या

काठमाडाैँ, २१ पुष । अमेरिका र इरानबीच तनाव चुलिएपछि नेपालले कुवेत लगायत मध्यपूर्व क्षेत्रमा रहेका नेपाली कामदारलाई सुरक्षित रहन आग्रह गरेको छ ।

खाडीमा तनाव बढ्दै गएपछि परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबीच भएको छलफलपछि नेपाली कामदारलाई सम्पर्कमा रहनुका साथै सुरक्षित रहन आग्रह गरेको हो ।

खाडी क्षेत्रमा रोजगारीका शिलशिलामा लाखौं नेपाली छन् । सम्बन्धित देशका दूतावासलाई विकसित परिस्थितिबारे बुझ्न र खाडी क्षेत्रमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन आग्रह गरिएको छ ।

मध्यपूर्वमा युद्ध–सन्त्रास फैलिएसँगै परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली दूतावासहरु र दूतावास नभएका देश हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्कमा रहन पनि निर्देशन दिइएको हाे ।

इरान अमेरिका तनावको कोपभाजनमा फसेको द्वन्द्वग्रस्त इराकमा पनि करिब १५ हजार नेपाली रहेको अनुमान छ । यद्यपि सरकारसँग त्यहाँ रहेका नेपालीहरुको यकीन तथ्यांक छैन ।

इरानमा पनि हजारौं नेपालीहरु रहेको हुनसक्ने अनुमान छ । मध्यपूर्वका देशहरुमध्ये साउदी अरेवियामा करिब चार लाख, कतारमा तीन लाख ५० हजार, युएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, बहराइनमा २५ हजार, ओमानमा २० हजार, लेबनान र जोर्डनमा क्रमश: १२/१२ हजार तथा इजरायलमा तीन हजार नेपाली छन् । रासस