आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

आलमको इन्कारी बयानका बाबजुद तथ्यहरु ‘विष्फोट’ उजागर गर्दै

परदेशी खबर २० कार्तिक २०७६, बुधबार ०४:२४ मा प्रकाशित ( ४ साल अघि) १०४ पाठक संख्या

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलम मुछिएको रौतहट बम विष्फोट र हत्या काण्डमा प्रत्यक्षदर्शी र घाइतेको बयानका साथै फरेन्सिक रिपोर्टले त्यतिबेला विष्फोट भएकै पुष्टि गरेको छ । पीडित परिवारले त्यतिबेला विष्फोट भएको दावी गरिरहेको र आरोपितले विष्फोट नभएको भन्दै इन्कारी बयान दिइरहेको अवस्थामा फरेन्सिक रिपोर्टले भने विष्फोट भएकै ठहर गरेको हो ।

सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोगपत्रको २५ नम्बर बुँदामा उक्त घटनाका घाइतेको उपचार गरिएका अस्पतालमा उल्लेखित रेकर्ड, स्वास्थ्य उपचार प्रक्रियाको विश्लेषणका आधारमा त्यतिबेला सम्भवतः विष्फोट नै भएको ठहर गरिएको हो ।

रौतहट बम विष्फोट घटनाका प्रत्यक्षदर्शी तथा त्यस घटनाका घाइते सफी अहमदको उपचार रिपोर्टको विश्लेषणबाट पनि उनी विष्फोटकै घाइते भएको ठहर हुने सरकारी वकिलको कार्यालयको दावी छ ।

सफीको मेडिकल रिपोर्टमा उनको छातीमा २५ बाइ २० सिएमको भित्री चोट लागेको उल्लेख छ । त्यसैगरी पेटको शल्यक्रिया गर्दा १८ सेन्टीमिटर बाइ ०.५ सेन्टीमिटरको घाउ देखिएको उल्लेख छ । रिपोर्टमा उनको शरीरमा अरु चोटहरु पनि देखिएको उल्लेख छ । उनमा देखिएको चोट आन्तरिक कारण नभइ ‘ब्लास्ट इन्जुरी’ भएको प्रस्ट देखिएको भारतको मोतीहारीस्थित अस्पतालको मेडिकल रिपोर्टमा उल्लेख छ । उनी उक्त घटनापछि लुकेर भारत गएर उपचार गराएका थिए । 

यो पनि

इँटा भट्टामा काम गर्ने मजदुरको बयान : ३ घण्टा लगाएर जलाइएको थियो घाइते र मृतकलाई

‘परिवारलाई नै मार्ने धम्की दिएपछि बमले भत्किएको गोठ पुनर्निर्माण गरेँ’

बमका छर्रा लागेर घाइते भएका सफीलाई गम्छाले पेट बाँधी घटनास्थलभन्दा ६०० मिटर दुरीमा रहेका भारत बिहार बस्ने शेख मसिरले देखेर मोटरसाइकलमा राखी उपचारका लागि भारत मोतिहारीको डा. प्रवेज र तवरेज आलमको क्लिनिकमा उपचार गराएका थिए । घाइते सफीको १९ दिन पश्चात होस खुलेको बयानमा उल्लेख छ । उनले त्यहाँ करिब चार महिना उपचार गराएका थिए ।

घटनाका प्रत्यक्षदर्शी सफीले आफू र आफ्नो परिवारको जिउ–ज्यानको खतरा महसुस गरी उजुरी गर्न नसकिएको बयान दिएका थिए । बम विष्फोटका प्रत्यदर्शीमध्येका एक उनले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा आफू र आफ्नो परिवार असुरक्षित भएकाले उजुरी दिन नसकेको बताएका थिए ।

उनले दिएको बयानमा भनिएको छ– ‘सो विष्फोटमा परी २ जनाको मृत्यु भएको र आसि अख्तर मियाँ र पिन्टु सिंहसमेतका १५÷१६ जना मानिसहरु घाइते भएकोमा घाइतेलाई महोम्मद अफताव आलम, मोहम्मद महताब आलम, शेख सेराज, शेख मोबिन आलम, शेख बदई समेतका मानिसहरुले मृतक तथा घाइतेहरुलाई जुटको बोरामा हाली कसी ट्रयाक्टरमा लोड गरी नजिकको राजा इँटा उद्योगमा लगि जिउँदै जलाएको थाहा पाएँ । लामो समयसम्म प्रहरी समक्ष उजुरी दिने सोच बनाएकोमा मेरो तथा परिवारको जिउ ज्यानको खतरा महसुस गरी उजुरी गर्न सकिनँ ।’ रातो पार्टीले यो खबर प्रकाशित गरेका छन ।