आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा

परदेशी खबर ३० आश्विन २०७६, बिहीबार ०५:३८ मा प्रकाशित ( ४ साल अघि) ११४ पाठक संख्या

काठमाडौं ३० असोज| गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतपत्र प्रयोग हुने भएको छ। भोटिङ मेसिनमा समस्या देखिएपछि निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको हो।

भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिनमध्ये २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान हुने जानकारी दिएको छ । ‘प्रविधिमा आएको समस्याको कारण बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले बुधबार बेलुकी सूचना निकालेर जानकारी दिएको थियो । बिहीबार १० बजेबाट मतदान सुरु हुने भनेपनि अझै केहि समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएपछि बेलुकी नै रोकिएको थियो।

नेपालमा रहेका करिब २०० जनालाई मतदानको अधिकार दिइएको भएपनि धाँधली हुने भन्दै विरोध भएपछि उनीहरुलाई मतदाता सूचीबाट हटाइएको छ । त्यसैगरी अब निष्पक्ष र विवादरहित मतदानका लागि पासपोर्ट, भिसा र मतदाताको फ्रिगंर प्रिन्ट अनिवार्य राखिएको छ।

एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको आरोपसहित मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको थियो। निर्वाचनका लागि संघको सचिवालयले मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका थिए।

को-को छन् प्रतिस्पर्धामा

अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन्। आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन्।

मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलागरी सुरु भएको हो। वर्तमान अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष शेष घलेले आचार्यलाई सघाउने भएका छन् भने पूर्वअध्यक्ष जीवा लामिछानेले पन्तलाई सघाएका छन्। एनआरएनएमा दलीय हस्तक्षेप भएको भन्दै उपेन्द्र महतो सम्मेलनबाट बाहिरिएका छन्। उनी तटस्थ बसेका छन्।

अध्यक्षलगायतका महत्वपूर्ण पदमा सहमतिको प्रयास भए पनि त्यो राति अबेरसम्म सहमति नभएपछि मतदान सुरु भएको हो। आफ्नो पक्षमा माहोल बनाउन र मतदातालाई प्रभावित गर्न दुवै पक्ष राति अबेरसम्म महाधिवेशनस्थल र राजधानीका होटलहरुमा व्यस्त थिए ।

बुधबार अपरान्ह तीन बजे मतदान प्रारम्भ गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी छन्। अध्यक्ष, पाँचजना उपाध्यक्ष, महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।

अध्यक्ष पदका उम्मेद्वारहरु आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। दुवैजना हस्पिटालिटी व्यवसायमा छन्। आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ। पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। २८०० प्रतिनिधि भएपनि मतदाता सूचीमा २४०० भएकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्नेछन् ।
अन्नपुर्ण पोस्टमा समाचार छ।