मारेर बोइलर नेपाल भित्र्याइन्छ

विराटनगर : सरकारले भारतबाट आयात गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको बोइलर कुखुरा मारेर अवैध रुपमा नेपाल भित्र्याउने गरेको पाइएको छ। 

चोरी तस्करीमा संलग्नले मारेर झोलामा राख्दै साइकल, रिक्सालगायत साधनमा हालेर जोगवनी, दरैया, हुलास मेटल, मटेर्वा समेतका नाकाबाट नेपाल ल्याउने गरेका हुन्। बर्डफ्लु भित्रने र त्यसको जोखिम हुने भन्दै सरकारले बोइलर आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ। 

जिउँदै कुखुरा तस्करी गरेर ल्याउने गरिएकोमा पछिल्लो समय मारेर ल्याउन थालिएको प्रहरीले जनाएको छ। ‘जिउँदोलाई झोलामा राख्न पनि अप्ठेरो हुन्छ। एउटा जिउँदो राख्ने ठाउँमा दुईवटा मरेका कुखुरा अट्छन्,’ एक प्रहरीले भने, ‘झोलामा राख्न सजिलो होस् र परबाट हेर्दा कुखुरा ल्याउँदै गरेको नदेखिओस भनेर मारेर ल्याउने गरेको पाइयो। यसरी भित्राइएका कुखुरा मासु पसलमा पुर्‍याएर सस्तोमा बिक्री गर्ने गरिँदो रहेछ।’ 

भारतबाट मारेर ल्याएपछि नेपालमा बिक्री हुने र त्यो मासु पसलबाट उपभोक्तालाई बिक्री गर्ने गरिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए। 

नेपालतर्फ बोइलर तस्करी गर्ने आठजना भारतीय नागरिकलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेसँगै मरेका कुखुरा धमाधम नेपाल भित्राइरहेको पुष्टि भएको हो। विराटनगर महानगरपालिका–१५ हुलास मेटलबाट एक सय ४४ वटा बोइलर पनि बरामद भएको छ। बरामद भएका मध्ये एक सय दुईवटा कुखुरा मरेको अवस्थामा भेटिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए। 

पक्राउ पर्नेमा भारत विहार स्लामपुरका २१ वर्षी मोहम्मद सेनदेन, २२ वर्षीय आजाद अली, मोहम्मद अजबुल, अजात अली, १७ वर्षीय मोहम्मद ईरफन, १८ वर्षीय मोहम्मद मुस्तक, मोहम्मद मनु र मोहम्मद मजेबुल छन्। 

डीएसपी श्रेष्ठले पक्राउ परेकाले भारतबाट नेपालतर्फ अवैध रुपमा बोइलर कुखुरा भित्राउने काम गरिरहेको खुलेको बताए। साउन यता मात्रै मोरङमा भारतबाट भित्राइएका तीन सय बढी बोइलर प्रहरीले बरामद गरेर नष्ट गरिसकेको छ। तस्करीमा संलग्न १३ जना पक्राउ परेका छन्। 

पछिल्लो समय पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेक पोस्ट विराटनगरमा बुझाइएको उनको भनाइ छ। चेक पोस्टका निमित्त प्रमुख केशवकुमार सिंहले पक्राउ परेकालाई जनही तीन हजार रुपैयाँका दरले जरिवाना गरिएको बताए। कुखुरा नष्ट गर्दै तस्करीमा संलग्नलाई कारबाही गरेर छाडिएको उनको भनाइ छ।

सीमावर्ती भारतीय बजारमा प्रति किलो एक सय ८० रुपैयाँ सम्ममा बोइलरको मासु पाइन्छ। नेपाली बजारमा अहिले दुई सय ८० देखि तीन सय २० रुपैयाँसम्म पर्छ। निमित्त प्रमुख सिंहले नेपालमा भन्दा भारतमा मासु सस्तोमा पाइने भएकाले नेपालतर्फ बोइलर तस्करी हुने गरेको पाइएको बताए। 

भेटरीनरी अस्पताल तथा पशु सेवाविधि केन्द्र मोरङका प्रमुख डा. सुशील अधिकारीले बर्डफ्लुबाट बच्न कुखुराको तस्करी रोक्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाई गर्नुको विकल्प नभएको बताए। कोही कसैले ल्याएको पाइएमा तत्काल खाल्डो खनेर नष्ट गर्नु पर्ने उनको भनाइ छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कुखुरा तस्करी नियन्त्रण गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर सबै ठाउँमा कडाई थालिएको बताए। ‘सीमा नाकामा कडाई गर्नुको विकल्प छैन,’ उनले भने, ‘मासु पसलमा पनि भारतबाट आयात भएका कुखुराको मासु बिक्री हुन्छ कि हुँदैन भनेर अनुगमन आवश्यक देखियो।’ यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  






Related Posts
  • थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
  • १२अाैं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट पुन: अध्यक्षमा सञ्जिव वाईवा चयन
  • कङ्गोमा भयानक रेल दुर्घटना : ५० को मृत्यु, धेरै घाइते
  • नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयनमा सहमति, अब शून्य लागतमा जान पाइने
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस