आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परदेशी खबर ४ भाद्र २०७६, बुधबार १२:५१ मा प्रकाशित ( ४ साल अघि) २५८ पाठक संख्या

प्रधामन्त्री निवास बालुवाटारमा भएको भेटपछि भारतीय दूतावासले सार्वजनिक गरेको फोटो।

०४ भदौ, काठमाडौंl  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका हुन्। भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरले पहिलो विदेश भ्रमण नेपालबाट थालेका हुन्।

बुधबार बिहान सबा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए।

तीन वर्षको अन्तरालपछि नेपाल-भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै जयशंकर काठमाडौं‌ आएका हुन्।

संविधान जारी भएलगत्तै भारतले नेपालमा नाकाबन्दी लगाउँदा जयशंकर भारतीय विदेश सचिव थिए। त्यतिबेला पनि उनले नेपाल भ्रमण गरेका थिए। संविधान जारी नगर्न उनले दबाब दिएको प्रमुख दलका शीर्ष नेताहरूले बताउने गरेका थिए।

२०७२ असोजमा गरेको उक्त राजनीतिक भेटघाटपछिको तीक्तता चिर्न पनि अहिलेको भेटघाट महत्वपूर्ण रहेको अधिकारीहरू बताउँछन्।

विदेशमन्त्री जयशंकरले भारतीय दूतावासमा राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ। यो समाचार अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो l