आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

विद्यासुन्दर शाक्य, रेणु दाहाल, हरिप्रभा खड्गी र चिरीबाबु सबै भन्दा धेरै विदेश भ्रमण जानेको सूचीमा

परदेशी खबर २८ श्रावण २०७६, मंगलवार १५:५२ मा प्रकाशित ( ४ साल अघि) २४० पाठक संख्या

 

काठमान्डौ, २८ साउन् | स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए ।

वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् ।

काठमाडौ महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्की संयुक्त राज्य अमेरिका र चीन भ्रमण, ललितपुरका प्रमुख महर्जन मङ्गोलिया र भियतनाम तथा भरतपुर महानगरका प्रमुख दाहाल चीन र अष्ट्रेलियाको भ्रमणमा गएका छन् । काठमाडौँका प्रमुख शाक्य गत भदौमा अमेरिका जाँदा हवाई खर्च महानगर र बाँकी खर्च आयोजक तथा गत कात्तिकमा चीन जाँदा भने आयोजकको खर्चमा गएका थिए ।

उनी अमेरिका जाँदा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत यादवप्रसाद कोइरालासहित सात जनाको टोली लिएर गत भदौमा गएका थिए । काठमाडौँका प्रमुख शाक्य भगिनीसम्बन्ध रहको अमेरिकाको फ्रेडरिकवर्ग शहरको अवलोकन गर्न र चीनमा भने चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज् कन्फरेन्समा भाग लिन गएका थिए ।

यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि दुई देशको भ्रमण गरेका छन् । उनले अमेरिका र भारतको नयाँ दिल्लीमा मन्त्रालयको स्वीकृत लिएर भ्रमण गरेका हुन् । यसैगरी दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरीले दुई पटक चीनको भ्रमण गरिसकेका छन् । चौधरीले गत असोज २९ र गत असार १६ गतेदेखि चीनको दुई पटक भ्रमण गरिसकेका छन् ।

मानबहादुरको जम्बो टोली

सबैभन्दा ठूलो जम्बो टोली लिएर जानेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी जापानको भ्रमणमा नौ र दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ स्थानीय तहका प्रमुख÷उपप्रमुख सहभागी थिए । वैदेशिक भ्रमण गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवहाक प्रमुख मञ्जु भण्डारीसमेत गएका थिए ।

यसैगरी विदेश भ्रमण जाने पदाधिकारी ती देशका शहरसँग भगिनी सम्बन्ध कायम गर्न, विभिन्न भेला तथा सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ । सबैभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१÷२१ जना, मङ्सिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता बरालले जानकारी दिए ।

पोखराका प्रमुख जीसीले गत वर्षको साउन १४ देखि १८ गतेसम्म गरेको वैदेशिक भ्रमणमा महानगरका पदाधिकारीसहित कर्मचारीसमेत गएका थिए । लमहीका प्रमुख चौधरीको तीन दिनको चीन भ्रमण टोलीमा अन्य स्थानीय तहका प्रमुख सहभागी थिए । भ्रमणमा जानेमा धेरै पदाधिकारी आयोजकको खर्चमा जाने गरेका पाइएको छ । भ्रमणमा जाने देशमा धेरैजसो पदाधिकारी अमेरिका, चीन, जापान, दक्षिण कोरिया छन् ।

पदाधिकारीहरुले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन् । मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्दे्शिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्दे्शिका–२०७५ जारी गरेको छ ।

प्रवक्ता बरालले निर्दे्शिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको छ ।

‘जथाभावी भ्रमणलाई हामीले रोक लगाएका छाँै, उनले भने ‘निर्दे्शिका अनुसार भ्रमण जानुको आवश्यकता छ कि छैन, भ्रमणमा गएपछि स्थानीय तह र सरकारलाई के फाइदा हुन्छ त्यो हेरेर मात्र भ्रमण स्वीकृत गर्ने गरेका छौँ ।’ रासस