आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

अब मोबाइल र ल्यापटपबाटै जापानी भाषा !

परदेशी खबर २४ श्रावण २०७६, शुक्रबार १०:३९ मा प्रकाशित ( ४ साल अघि) ८७ पाठक संख्या

 

जापानस्थित जापान इन्टरनेशनल को–अपरेसन सेन्टर (जेआइसिई)का प्रमुख कार्यकारी अधिकृत नाकाता सुनिइची र नेपालका तर्फबाट इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाबीच जापानी भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौता हुँदै।

जापानी भाषाका लागि ई–लर्निङ सुरु

काठमाडौं : नेपालमा जापानी भाषा अध्ययनका लागि ई–लर्निङ सेवा प्रारम्भ भएको छ। जापानी भाषा अध्ययनका लागि बिहीबार औपचारिक सम्झौता भएपछि अध्ययनको सहज मार्ग खुला भएकाे हो।

जापानस्थित जापान इन्टरनेशनल को–अपरेसन सेन्टर (जेआइसिई)का प्रमुख कार्यकारी अधिकृत नाकाता सुनिइची र नेपालका तर्फबाट इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाविच जापानी भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। अध्ययन, अनुसन्धान, पर्यटन वा रोजगारीकामका लागि जापान नेपाली युवाहरुको गन्तव्य मुलुकका रुपमा रहँदै आएको छ।

‘जापानमा अध्ययन तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न पाउँदा खुशी लागेको छ,’ सम्झौता पत्रमा हस्ताक्षर गर्दै जेआइसिईका सिइओ नाकाता सुनिइचीले भने,‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्। कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्। त्यस्तो समस्या समाधानका लागि ई–लर्निङ सेवाको जरुरत थियो, जुन शुरु भएको छ।’

ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्नेछन्। ई–लर्निङमार्फत जापानी भाषा अध्ययन गर्ने विद्यार्थीहरुले जापान पुगेर भाषा नबुझ्ने तथा बोल्न नसक्ने लगायतका समस्या झेल्नु नपर्ने अवस्था आउने विश्वास लिइएको छ। जापान इन्टरनेशनल को–अपरेसन सेन्टरका सीईओ सुनिइचीले भने,‘नेपाली विद्यार्थी तथा कामदारहरु ई–लर्निङमार्फत भाषा अध्ययन गरेर जापान जाँदा त्यस्तो समस्या हुँदैन, जापानी भाषामा दक्ष भएर अध्ययनका लागि तथा रोजगारीका लागि जापान जान सक्नुहुन्छ।’

ई–लर्निङमार्फत आफू अनुकूल ठाउँमा इन्टरनेट पहुँच भएको स्थानमा बसेर अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ। आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत सहज र सुविधाजनक रुपमा ई–लर्निङ सेवा लिन सकिन्छ। नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने जानकारी दिए।

‘सुरुवाती चरणमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गरिने छ। नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमासमेत इन्टरनेट पहुँच विस्तार गरी क्रमिक रुपमा सेवा सुचारु गरिने छ,’ ओझाले भने। उनका अनुसार ई–लर्निङ सेवामार्फत इन्टरनेटका माध्यमबाट अध्ययन गर्न सकिने छ। ई–लर्निङ सेवामार्फत ‘एन फाइभ’ तहसम्मको जापानिज भाषा सिक्न सकिने छ। यो सेवामार्फत जापानिज भाषा सिक्न चार महिने अध्ययन कोर्स राखिएको छ।

यो सेवामार्फत जापानी भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सक्ने छन्। उक्त आइडी र पासवर्ड लिएबापत १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ। जेआइसिईका सिइओ नाकाता सुनिइचीका अनुसार ई–लर्निङ सेवामार्फत जापानी भाषा अध्ययनका लागि विभिन्न जापानी भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी व्यक्तिहरुले आफ्नो आइडी लिन सक्ने व्यवस्था गरिने छ। एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ। यो खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।