एजेन्डा छोडेर आफ्नै स्वार्थमा विद्यार्थी संगठन

काठमाडौं, २० साउन । विद्यार्थीको हकहित र एजेन्डा स्थापित गर्ने उद्देश्य लिएका विद्यार्थी संगठनका नेता आमविद्यार्थीका एजेन्डा छोडेर आफ्नै स्वार्थमा लाग्न थालेका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ ।

संगठनका कतिपय नेता विभिन्न कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् । विद्यार्थी नेताहरू विद्यार्थीको हकहित छोडेर पूर्ण रूपमा कमाउ धन्दामा लाग्दा उनीहरू दिन प्रतिदिन आलोचित बन्न थालेका छन् ।

गौरवमयी इतिहास बोकेका विद्यार्थी संगठनलाई अहिले आफ्नो इतिहास जोगाउनै हम्मेहम्मे पर्न थालेको छ । विद्यार्थी नेता विद्यार्थीका हकहितभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न लागिपरेकाले यो अवस्था आएको होे ।

नेताहरूकै गतिविधिले विद्यार्थीहरूमा समेत विद्यार्थी संगठनले आफ्नो बारेमा केही बोलिदिन्छ कि भन्ने विश्वास देखिन समेत छोडेको छ ।

सत्तारुढ दल नेकपा निकट अनेरास्ववियु र प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेविसंघका नेता विद्यार्थीको सामूहिक हितका एजेन्डाभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्ने ध्याउन्नमा लाग्न पुग्दा उनीहरू गुमनामजस्तै बन्न पुगेका छन् ।

संगठनका नेताहरू विद्यार्थीको हितमा लाग्नु भन्दा पनि क्याम्पससँग मिलेमतो गर्दै स्वयं विद्यार्थीबाटै चर्को शुल्क असुल्ने कार्यमा लाग्ने गरेको आरोप विद्यार्थीले नै लगाउने गरेका छन् ।

शैक्षिक गुणस्तर सुधार गर्ने एजेन्डातर्फ विद्यार्थी संगठनहरू नलागेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद् महाश्रम शर्माले सिकाइ उपलब्धिको गुणस्तर सुधार गर्न विद्यार्थी संगठन नलागेको बताए ।

उनले भने, ‘विद्यार्थी संगठनले शिक्षाका एजेन्डा विद्यार्थीसम्म पु-याउनै सकेका छैनन् । अब उनीहरू शैक्षिक संस्थाहरू पढ्न योग्य बनाउन लाग्नुपर्छ । ’

विभिन्न कलेजमा नाम निकालिदिने भन्दै चर्को मात्रामा विद्यार्थीबाटै शुल्क असुल्ने गरेको विद्यार्थी संगठनमाथि आरोप छ । केही समयअघि प्रश्नपत्र आउट गर्दा काठमाडौंबाट विद्यार्थी नेताहरू नै पक्राउ परेका थिए ।

कुनै समय राजनीतिक र विद्यार्थी आन्दोलनलाई सार्थक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विद्यार्थी संगठन एजेन्डाविहीन हुँदा विद्यार्थी संगठनमाथि नै प्रश्नचिन्ह खडा हुन थालेको छ ।

विद्यार्थी संगठनमाथि आवश्यक परेको बेला चन्दा उठाउने र आन्दोलनलाई सम्झौतामा टुग्याउने आरोप लाग्ने गरेको छ ।

विद्यार्थी नेताले भने पार्टीले विद्यार्थी संगठनलाई उपयोग गर्दा समस्या निम्तिएको बताउँछन् ।

गुणात्मक शिक्षामा विद्यार्थी संगठन मौन विद्यार्थी संगठन सिकाइलाई गुणात्मक बनाउन नलागेको पाइएको छ । कक्षा १०, ११ र १२ मा नतिजा उपलब्धिमूलक हुन नसकिरहेको बेला सिकाइलाई गुणात्मक बनाउन लागि नपरेको शिक्षाविद्हरू बताउँछन् ।

अहिले कक्षा ११ र १२ मा अभिभावकले मनपरी शुल्क तिर्न बाध्य छन् । तर, सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनेको छ । विद्यार्थी संगठन भने मौन छन् ।

सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट उपलब्ध गराउनुपर्ने भनिए पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा विद्यार्थीहरू मारमा परेका छन् । सो विषयमा विद्यार्थी संगठन मौन छन् ।

निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति विद्यार्थीलाई दिनुपर्ने प्रावधान कागजमा सीमित छ । सो छात्रवृत्ति कतिपय विद्यालयमा विद्यालय सञ्चालकका आफन्तले हडपेको गुनासो आउन थालेको छ ।

केही मेडिकल कलेजले एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीबाट २० लाख रुपैयाँ बढी रकम असुल्दा पनि विद्यार्थी संगठन तातिएनन् । केही समय आन्दोलन थाले पनि निष्कर्षमा पुग्न सकेन । यसकारण, अहिलेसम्म बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गर्दै आएका छन् ।






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस