आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कोसी टप्पुको करेला कतार पुग्यो 

परदेशी खबर २३ असार २०७६, सोमबार ०४:३७ मा प्रकाशित ( ४ साल अघि) २०९ पाठक संख्या

 

उदयपुर बेलका नगरपालिका २ कोसी टप्पुमा उत्पादित तरकारी तेस्रो मुलुक निर्यात हुन थालेको छ । झन्डै ६ महिनायता देखि तितेकरेला खाडी मुलुक कतारमा निर्यात हुन थालेको हो ।

उदयपुरको बेलका नगरपालिका २ कोसी टप्पुमा कतार निर्यातका लागि करेला संकलन गर्दै । स्थानीय ब्लाक डायमन्ड अर्गानिक कृषि फार्मबाट तितेकरेला खाडीमुलुक निर्यात हुँदै आएको छ । तस्बिर ः डिल्लीराम/कान्तिपुर

ब्लाक डायमन्ड अर्गानिक प्रालिले कोसी टप्पु क्षेत्रमा उत्पादन गरेको तितेकरेला कतार निर्यात गरिरहेको छ । कम्पनीले यसअघि पनि किसानसँग खरिद गरेर हरियो तरकारी विदेश निर्यात गर्दै आएको थियो । कोसी टप्पु क्षेत्रमा भने आफैं खेती गरेको तितेकरेला कतार पठाउन थालेको निर्देशक नारायाण कार्कीले बताए ।

‘कम्पनीले २ लटमा १४० कार्टुन तितेकरेला कतार निर्यात गरेको छ,’ निर्देशक कार्कीले भने । तेस्रो लट तितेकरेला यसै साता कतार पठाउँदै छ । प्रालि आफैंले अहिले छ बिघा क्षेत्रफलमा तितेकरेला उत्पादन गरिरहेको छ । त्यसका लागि ५० जना मजदुरले काम गरिरहेका छन् । यसअघि २५० बिघा क्षेत्रफलमा लौका, भिन्डी, घिरौंला, भान्टा, फर्सी, चुकुनी, हरियो खुर्सानी, मकैलगायत उत्पादनका लागि नर्सरी व्यवस्थापन गरेको थियो । जग्गाको सीमा विवादका कारण नर्सरी व्यवस्थापन गर्न नसकेको निर्देशक कार्कीले बताए ।

‘अहिले जग्गा विवाद सकिएको छ,’ कार्कीले भने, ‘अब कम्पनीले त्यो जग्गामा गाँजर, मुला, काउली, ब्रोकाउली, भेंडेखुर्सानी, ओला, पिँडालु र विभिन्न १० किसिमका सिमी, हरियो धनियाँ, लसुन, प्याज, काँक्रा उत्पादनको तयारी भइरहेको छ ।’ यहाँ कम्पनी र कृषि समूहले उत्पादन गरेको हरियो तरकारी तेस्रो मुलुक निर्यात गरिने उनले बताए ।

प्रालिले नेपाल सरकारकै अनुमतिमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार दैनिक तीन टन तरकारी कतार पठाइरहेको कार्कीले बताए । ‘कतार, दुबई, ओमन, कुवेत, बहराइन, साउदी, मलेसियालगायत तेस्रो मुलुकमा नेपालमा उत्पादित हरियो तरकारी निर्यात भइरहेको छ,’ उनले भने, ‘झन्डै वर्ष दिनदेखि तेस्रो मुलुक तरकारी निर्यात गरिरहेका छौं ।’ ती मुलुकमा नेपालमा उत्पादित अर्गानिक हरियो तरकारीको माग धेरै छ, उत्पादन कम हुँदा समस्या भएको उनले बताए ।

‘कम्पनीले आफैं उत्पादन गर्नेभन्दा पनि कृषक, कृषक समूहलाई अर्गानिक तरकारी खेती गर्न अभिप्रेरित गर्नेछ,’ प्रालिका प्रतिनिधि बिसन विष्टले भने, ‘समूहलाई मल, बिउ, प्राविधिक दिएर उनीहरूको उत्पादनलाई वाइप्याकको ग्यारेन्टी दिइन्छ ।’ उत्पादन ग्यारेन्टी, वैदेशिक बजारको सुनिश्चितता हुँदा कृषकको आर्थिक उपार्जनसमेत बढ्ने उनले बताए ।

कृषक, कृषक समूहले उत्पादन गरेका तरकारी खरिद गर्ने, बजारको ग्यारेन्टी र मूल्यको समेत ग्यारेन्टीका लागि नगरपालिका, कृषि समूह र प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाको वडा २ र ३ मा कृषि समूहलाई प्रालिले प्रविधि, बीउबिजन, सिँचाइलगायत सबै कुरामा लगानी गरिदिन्छ ।

किसानले उत्पादन गरेको तरकारी प्रालिले वर्षभरि नै एउटै मूल्य निश्चित गरेर खरिद गर्ने त्रिपक्षीय सम्झौता भएको नगरप्रमुख दुर्गा थापाले बताए । ‘बजारमा मूल्य घटबढ भए पनि किसानलाई कुनै असर नपर्ने गरी सम्झौता छ,’ प्रमुख थापाले भने, ‘वर्षभरिका लागि त्रिपक्षीय सम्झौता गरिएको छ, उत्पादनको मूल्य अहिले नै निश्चित गरिएको छ ।’ प्रालिले प्रविधि, ऋण, तालिम दिलाउँछ पछि लगानी कटाएर किसानलाई मूल्य दिने उनले बताए ।

नगरपालिकाले उत्पादन आधार वर्ष मनाएकाले किसानको क्षमता अभिवृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न समन्वय गरिरहेको छ । त्यसैअनुसार पाँच सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादनसमेत भइरहेको छ । बालुवा भएको ठाउँलाई माटो बनाउने प्रविधि अपनाएर जनतालाई कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने नगरपालिकालेलक्ष्य छ ।
डिल्लीराम खतिवडा/कान्तिपुर