आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भुमी लोप्चनको दुई गजल

परदेशी खबर ८ बैशाख २०७६, आईतवार १३:३४ मा प्रकाशित ( ४ साल अघि) २२२ पाठक संख्या

               – लोप्चन भुमी

१)

जिउँदै कफनमा तयार कसरी हेर्नु 

सिन्दुर पखालेर निधार कसरी हेर्नु 

 

आउँछु भनेकै दिन निदायो पर्देशी 

अब बाकसमा सवार कसरी हेर्नु 

 

अस्ताए पछि घाम उतै मुग्लानमा 

यता अध्यारो संसार कसरी हेर्नु 

 

बरु फुटाइदिनुस् सबै यी ऐनाहरु 

मैले मेरो यो अनुहार कसरी हेर्नु 

 

२)

यो कुरा आफैलाई पनि अवगत नहुने रहेछ 

दिलसंग दिमाग अक्सर सहमत नहुने रहेछ 

 

यसकारण मेटाएकी हुँ तिम्रा जम्मै यादहरु 

धार नभएको हतियार जरुरत नहुने रहेछ  

 

औंलाहरुले पनि बुझेपछि मुठ्ठी कसेका हुन् 

समुहमा जस्तो एक्लोमा तागत नहुने रहेछ

 

दुश्मनी पनि फापीरहनु पर्छ कसैसँग नत्र

प्रगति गर्न आफन्तबाट मद्दत नहुने रहेछ